ट्रम्प नीतिको स्वागत



दामोदर पौडेल

अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्प उनको आप्रवासी नीतिको कारण विवादमा छन्। विशेषतः आप्रवासीहरूले उनको विरोध गरिरहेका छन्। केही मुसल्मान राष्ट्रका नागरिकलाई प्रवेशाज्ञा नदिने उनको घोषणा अझै विवादित भयो। उनको विरोध भए पनि आतंकवादको अन्त्य गर्ने उनको घोषणाले आतंकबाट पीडित र त्रसितहरू वस्तवमै खुशी छन्। उनलाई आतंकवादसँगको संघर्षमा साथ दिनको लागि ट्रम्पले मुसल्मानहरूलाई सन्देश पनि दिएका छन् कि अतंकवादसँग आफ्नो देशमा डराएर अमेरिका छिरी त्यो देशलाई पीडामा नछोड। त्यहीँ बसेर आतंकवादविरुद्ध लड र यसमा अमेरिका साथ छ।

अर्कोतर्फ मुसल्मान बाहुल्य र आतंकवादवाट पीडित राष्ट्रबाट अमेरिकामा जानेहरूमध्ये पीडित मात्र छैनन् बरु साथमा आतंककारीहरू पनि गएर अमेरिकामा अशान्ति गरेका छन्। अमेरिकी राष्ट्रपतिलाई आफ्नो देशलाई आतंकको छायाबाट जसरी पनि सुरक्षित राख्ने अधिकार छ। आप्रवासीलाई आफ्नै देशमा बस्न प्रोत्साहित गरेर आतंकवादको विरुद्धमा सैनिक प्रयोग नै आवश्यक हो भन्ने नसोची चेतनाको विकास, जनसंख्या नियन्त्रण, गरिबी निवारण गर्दै मानवीयताको पक्षमा काम गर्न सहयोग गर्नु आतंकवादको विरुद्धको सबैभन्दा राम्रो औषधि हो। उनको विरोध गर्नुभन्दा अमेरिकी जनताले उनको आतंकवाद र आप्रवासी नीतिको समर्थन गरेर उनलाई जिताएका हुन्। जनताबाट अनुमोदित नीतिलाई उनी लागू गर्दै छन् भन्ने बुझ्नुपर्दछ। हामीलाई मन नपर्ने कुरा अमेरिकी जनतालाई मन परेमा हामी असन्तुष्ट मात्र हुन सक्छौं। हाम्रो देशमा पनि हामी हाम्रै विचार लागू गर्न चाहन्छौं।

अमेरिकीहरू आफू सुरक्षित हुन चाहनु र सम्पन्न हुन खोज्नु नराम्रो होइन। ट्रम्पले अमेरिकाको हित निश्चित विषयमा देख्दा अरुलाई पीडा दिन खोजेको मान्नु उचित होइन। हामी अमेरिका जानका लागि मरिहत्ते मात्र गर्ने कि आफ्नै देशमा रोजागरीको सृजना–विकास गर्ने र असहिष्णु व्यवहारको अन्त्य गर्ने ?
अमरिकामा गएर राम्रो गर्ने हातहरू आफ्नो देशमा किन कुजिन्छन् भन्ने खोतलेर हामी तेस्रो विश्वका जनताले आफ्नो देशलाई नै अमेरिकाभन्दा राम्रो बनाउन सक्नुपर्दछ। आफ्नो देश र समाजलाई विकसित गर्ने, आफू धनी हुने, शान्ति आफ्नै देशमा स्थापना गर्ने काम महत्वपूर्ण हो कि अमेरिकामा आप्रवासीको रुपमा जान चाहनु राम्रो हो भन्ने विषयमा विश्लेषण गर्न आवश्यक छ।

ट्रम्पलाई धन्यवाद छ। किनकि उनले तिमी आफ्नै देशलाई समुन्नत बनाऊ, ब्रेन ड्रेन नगर, सीप र श्रम आफ्नै देशमा लगाऊ, गरिबी हटाऊ, आफ्नो देशको आशान्तिको कारणबारे पनि तिमीलाई बढी जानकारी भएकोले अशान्तिसमेतको अन्त्य गर, बरु त्यसमा अमेरिकाले सहयोग गर्नेछ भन्ने सन्देश दिए। विश्वमा लोकतन्त्रलाई बलियो बनाउन, मानवअधिकारको संरक्षण गर्न, गरिबी निवारण गर्न तथा आतंकवादलाई कमजोर पार्न आप्रवासीहरू आफ्नै देशमा लागिपरे त्यो सार्थक योगदान हुनेछ। आफ्नो देशलाई असुरक्षित बनाउनबाट रोक्न नसक्ने वा नचाहने र अमेरिकाले तिमी अमेरिका आएर हामीलाई अप्ठेरो भयो भन्न नपाउने सोच मानवीय होइन।

यद्यपि ट्रम्पको यो नीति आउनुमा आप्रवासीहरूको व्यवहार पनि प्रमुख छ। आतंकवादको विश्वव्यापी जालोबाट अमेरिका पनि असुरक्षित बनेकै हो। अमेरिकी जनता आप्रवासीबाट त्रसित पनि भएकै हुन्। जनताले त्यो त्रासबाट मुक्ति चाहेर ट्रम्पलाई जिताएका हुन् भने त्यो जनचाहनालाई उनले सम्मान नगरेको भए उनले आफ्ना जनताको आशा र मतको अपमान गरेको ठहर्न सक्थ्यो।

मलाई आफ्ना सन्तानलाई अमेरिका जान अप्ठेरो हुने कारणले पीडा छ। तर त्यो पीडाभन्दा अमेरिकी जनताको हित र चाहना उनीहरूको लागि महत्वपूर्ण हो। किनभने म मेरो चाहना विपरीत मेरो देशमा अरुबाट त्रसित हुन चाहन्न। म मेरो देश र मेरो लागि जे चाहन्छु त्यही कुरा अमेरिकीहरूले उनीहरूको देशमा गर्न पाउनुपर्दछ। अमेरिकी जनतालाई आफ्नो शान्त र समुन्नत देशमा आतंकको राज हुने वातावरण नहोस् र देशवासीको हित पहिलो प्राथमिकता हुनुपर्दछ भन्ने अधिकार छ। अमेरिकामा बम विस्फोट तथा काटमारका घटना बढ्नु आतंकवादी घटनाबाट त्रसित हुनुपर्ने कारण हुन्। मेरो देशमा आप्रवासीको कारणले अशान्ति भएमा म ती आप्रवासीलाई चाहन्न, त्यस्तै अधिकार अमेरिकीलाई छैन त ? अमेरिकीहरू आप्रवासीप्रति उदार हुने नाममा आफैं असुरक्षित हुन चाहँदैनन् भने त्यसलाई हामीले सम्मान गर्नुपर्दछ। आप्रवासीले आफ्नो देशको माटोलाई सम्झनुपर्दछ। अमेरिकालाई नै छनोट मान्नेहरूले पनि अमेरिकी मानसिकतालाई सम्मान गर्न सक्नुपर्दछ।

अमेरिकीहरूलाई सुरक्षित हुने, छिमेकीको विश्वासमा बाँच्ने, अझ सम्पन्न हुने अधिकार छ। आप्रवासीहरूले शान्ति, विकास, रोजगारी, सुरक्षाजस्ता विषय अन्यत्र होइन बरु आफ्नै देशमा खोज्नुपर्दछ। त्यसको लागि क्षतावान्हरूले आफ्नो देशको लागि नै काम गर्नुपर्दछ। आफ्नो देश भनेको विदेशको आम्दानीको भरमा बाँच्ने र बुढ्यौलीमा प्रयोग गर्ने वृद्धाश्रम हुनुहुँदैन भन्ने मनन गर्न आवश्यक छ। आफ्नो देशलाई राम्रो बन्न नदिने कारणहरू खोज्ने र त्यसलाई हटाउने पनि कर्तव्य र अधिकार आफ्नै हो भन्ने सोच्नुपर्दछ। यसको लागि ट्रम्पले अवसर दिए। उनी यस अर्थमा विश्वको लागि नै अनुसरणीय छन्।

अमेरिका आतंकवादसँग डराएर, आप्रवासीको कारणले बढी असुरक्षित हुँदै गएर बाँच्नुपर्ने अवस्थाको अन्त्य चाहन्छ भने हामी आफ्नो समाजलाई आफैं ठीक बनाउने प्रयासमा लागौं। यो अवसरलाई अमेरिकाको विरोधमा दुरुपयोग पनि नगरौं। साथै आतंकवादको विरुद्धमा शान्ति कायम गर्न अमेरिकाको सहयोग हुनु भने दायित्व हो भन्ने ट्रप्पले सोच्नुपर्दछ। त्यसको लागि अझ सघनरुपमा काम गर्ने वतावरण बन्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्