कोशीका डल्फिनको संरक्षण अपरिहार्य



दुर्लभ र लोपोन्मुख जन्तुको सूचीमा सूचीकृत डल्फिनको प्राकृतिक बासस्थान जोखिममा रहेको टिप्पणी भइरहेका बेला सप्तकोशीमा रहेका डल्फिनहरू संक्रमित अवस्थामा फेला परेका छन् । सो क्षेत्रमा रहेका एक दर्जन वयष्क ‘ग्याङ्गेटिक रिभर डल्फिन’मध्ये अधिकांशको छालामा संक्रमण देखिएको समाचार छ ।

डल्फिनको छालामा कालो धब्बासहित स–साना घाउ भेटिएको छ भने केहीको छाला चिरिएको र केहीको चुच्चोमा समेत असर परेको पाइएको छ । डल्फिन अनुसन्धानकर्ता शम्भु पौडेलका अनुसार दुईवटा डल्फिनको त मुखको चुच्चो नै भाँचिएको अवस्था छ । बढ्दो मानवीय गतिविधि र अवैधरूपमा माछा मार्न प्रयोग हुने विभिन्न किसिमका जाली एवं उपकरणको प्रयोगका कारण डल्फिनको विचरण क्षेत्र साँघुरिएपछि डल्फिनको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको पौडेलको भनाइ छ । त्यसैले यहाँका डल्फिनको संरक्षणका लागि सरकारले बेलैमा पहल गर्नुपर्ने देखिन्छ ।

अनुसन्धानकर्ता पौडेलको नेतृत्वको टोलीले सप्तकोशीमा एक साता लामो डल्फिन अध्ययन⁄अवलोकन गरेको थियो । सो टोलीमा हङकङका विज्ञ ग्रान्ट अवेलसहित स्थानीय बासिन्दाले सघाएका थिए । सो अध्ययन कोशी ब्यारेजदेखि २ किलोमिटर दक्षिणतर्फ केन्द्रित थियो । वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापकसमेत रहेका पौडेलका अनुसार कोशी नदीका पाँचवटा डल्फिनको छालामा संक्रमण देखिएको छ भने दुईवटा डल्फिनको माथिल्लो र मुनिको चुच्चो भाँचिएको छ । यस्तै भइरहने र सरकारले पनि केही कदम नचाल्ने हो भने यहाँका बाँकी डल्फिनमा पनि स्वास्थ्य समस्या नआउला भन्न सकिन्न ।

यसअघि गत भदौमा नेपालमा राष्ट्रिय स्तरको डल्फिन गणना गरिएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलगायतका निकायले गरेको सो गणनामा कर्णालीको मोहना, सप्तकोशी र नारायणीमा गरी ४ दर्जन वयष्क डल्फिन फेला परेका थिए । तीमध्ये कोशी ब्यारेजदेखि भारतीय सीमाक्षेत्रको गोबरगाढाको ७ किलोमिटर दूरीभित्र एक दर्जन डल्फिन फेला परेका थिए ।

अहिले यस कोशी नदीका आधाजसो डल्फिन संक्रमित भएको पाइनुले यसको संरक्षणमा सरकार उदासीन भएको पुष्टि गर्छ । डल्फिनको प्राकृतिक विचरण क्षेत्र नदीमा अतिक्रमण बढेपछि यहाँका डल्फिन संकटमा पर्दै आएका हुन् । नदीमा मिसिने औद्योगिक एवं शहरी फोहोरले पनि नदीको प्रदूषण बढाएको छ । यी सबै कुरालाई मध्यनजर गर्दै सम्बन्धित निकायले यथाशीघ्र संक्रमित डल्फिनको उपचार एवं यसको संरक्षणमा दीर्घकालीन पहलकदमी गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्