नेपालमा अखबार पढ्नेहरूको कमी



रमेशकेशरी वैद्य

हाम्रो जस्तो मुलुकमा बढी सम्पत्तिको चाहना गर्ने, अन्धविश्वासमा डुबिराख्ने, नकारात्मक कुरा गर्ने र कलह गर्न रुचाउनेहरू धेरै छन्। नेता हुन् वा सर्वसाधारण, यस प्रकारको सोचले मुलुक सधैँ पछि परिराखेको हुन्छ। यस्तो बेलामा यिनीहरूको सोच परिवर्तन गर्नका लागि बुद्धिजीवीहरू संलग्न रेडियो, टिभी, अनलाइन, अखबार आदि मिडियाको जरुरत पर्दछ। त्यसैले अहिले मिडियाहरू पनि परिवर्तन हुनु जरुरी छ। सधैँ राजनीतिक सञ्जाल, अन्तर्वार्ता र विज्ञापनमा मात्र अल्झेर बस्नुहुँदैन। समाजलाई बदल्ने तथा मुलुकको विकासमा टेवा पुग्ने खालका समाधानहरू दिएर अघि बढ्नु आवश्यक छ।

भनिन्छ, मिडियाको काम कमिलालाई हात्ती बनाउनु र कुकुरलाई खसी बनाउनु हो। तर यो गलत धारणा हो। मिडिया एक यस्तो माध्यम हो, जसले समाजलाई राम्रो बाटोतर्फ परिवर्तन गर्ने कोशिश गरिराखेको हुन्छ। तर समाज परिवर्तन हुन चाहँदैन भने यसमा मिडियाको के दोष ? कुनै पनि मुलुक विकास हुनका लागि मिडियाले ठूलो भूमिका खेलेको हुन्छ। देश–विदेशमा भइरहेका घटना तथा हालखबर सर्वसाधारणसमक्ष पुर्याएर यसले हरेक देशमा ठूलो योगदान पुर्याएको हुन्छ। एउटा सोझो मानिस पनि यसको मद्दतले चलाख हुन पुग्छ।
अखबारको कुरा गर्दा, कुनै बेला हाम्रो मुलुकमा अखबारको नाममा गोरखापत्र मात्र थियो। तर प्रजातन्त्र आएपश्चात् यहाँ कैयौं थप अखबारहरू प्रकाशन भए।

यो हाम्रा लागि खुशीको कुरा हो। तर अखबारहरूको विकास भए पनि अखबार पढ्नमा चाहना राख्नेहरूको संख्यामा भने अझै कमी छ। प्रायः व्यक्ति समाचारका शीर्षक मात्र पढ्ने गर्दछन्। कोही फोटो मात्र हेर्ने, अझ कतिपय त अखबार हेर्दै नहेर्ने पनि छन्। यसैले बुद्धि विकासका लागि प्रायः सबैलाई अखबार पढ्ने बानी बसाउनु हाम्रो दायित्व हो। आजभोलि अखबारहरू छ्यापछ्याप्ती छन्। तर प्रायः अखबारमा सधैँ एकै प्रकारका राजनीतिक एवं हिंसात्मक कुराहरू उल्लेख गरिएको पाइन्छ। यसले गर्दा पनि प्रायले अखबारप्रति चाख नदिनु स्वभाविक हो।

अहिलेको अवस्थामा युवापुस्ताका लागि केही अखबार राम्रा पनि होलान्। यस प्रकारका अखबारमा खानेकुरा, युवायुवतीका फोटा, पहिरन, देश–विदेशका कुरा आदि दिइने हुनाले युवायुवती आकर्षित हुन्छन्। तैपनि यस प्रकारका अखबारमा बौद्धिक कुरा, सामान्य ज्ञान, कोठेपद, गेम्सहरू आदिको कमी देखिन्छ।
अहिलेको परिप्रेक्ष्यमा अखबार प्रकाशकहरूले सार्वजनिक ठाउँमा नोटिस बोर्डजस्तो बनाएर चिप्काउनु आवश्यक छ। यति मात्र नभई स्कुल, हस्पिटल, कार्यालयहरूको नोटिस बोर्डहरूमा पनि अखबार चिप्काउनु आवश्यक छ। यसले गर्दा सम्बन्धित कार्यालयहरूको पत्रपत्रिकामा हुने खर्च घट्न जान्छ भने फुर्सदमा अखबार पढ्नेहरूको संख्या बढ्न जान्छ। वास्तवमा अखबार पढ्न चाख नलिनुका पनि केही कारण छन्। पहिलो त प्रायः अखबार राजनीतिक धारका हुन्छन्, जुन अहिलेका जनताले उति सरोकार राख्न चाहँदैनन्। अर्को कुरा, प्रायः समाचार–लेख लामो हुनु, वाक्यहरू बुझ्न गाह्रो हुनु, अक्षर साना हुनु पनि अखबार पढ्न रुचि नहुनुका कारण हुन्।

यसबाहेक समस्या समाधानका उपायसहित देश विकासका खातिर हुनुपर्ने लेखहरू अपुग छन्। हाम्रो मुलुकमा थरी–थरीका अखबार प्रकाशन भइरहेका छन्। ती अखबारहरूले कुनै पनि विषयमा लेखिएका राम्रा लेखहरूको कदर गर्न जान्नुपर्दछ। आफ्ना सर्कलका व्यक्तिहरूको मात्र आफ्नो अखबारमा लेख प्रकाशन गर्नु र बाँकी लेखलाई वास्ता नगर्नु पनि राम्रो होइन। त्यसैले सञ्चारगृहमा कार्यरत यस्ता सम्पादकहरूको सोचमा पनि परिवर्तन आउनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्