अब शेयर भर्दा फोटो र नागरिकता नचाहिने



नेपाल समाचारपत्र
काठमाडौं
शेयर बजारका लगानीकर्तालाई सहजता थपिएको छ। शेयर भर्दा अबदेखि नागरिकताको प्रतिलिपि र फोटो नचाहिने भएकाले उनीहरूलाई सहजता थपिएको हो।

नेपाल धितोपत्र बोर्डले शेयर आवेदनमा डिम्याट खाता अनिवार्य गरिएको तथा शेयर आवेदनमा आस्वा प्रणाली लागू गरेको हुँदा त्यसमा फोटो र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्ने भएकाले साधारण शेयर (आईपीओ) का निम्ति आवदेन गर्दा नागरिकता र फोटो आवश्यक नपर्ने व्यवस्था गरेको छ। तर, उद्योग र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई दिइने आइपीओमा भने यो व्यवस्था लागू हुने छैन।

यसैबीच साताको अन्तिम दिनकोको कारोबार हुँदा बिहीबार नेप्से शून्य दशमलब ६५ अंकले घटेर १५८७ दशमलब ६४ विन्दुमा पुगेको छ। यस दिन कुल १४० कम्पनीको २७ लाख २३ हजार ६२६ कित्ता शेयर १ अर्ब ४८ करोड रुपियाँ बराबरको कारोबार भएको छ।

बिहीबार बैंकिङ समूह, विकास बैंक समूह, जलविद्युत् समूह र उत्पादन समूहमा गिरावट आएको छ भने होटल, वित्त, बीमा र अन्य समूह सामान्य बढेका छन्। यसदिन सिर्जना फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

ज्योति विकास बैंक, सहारा विकास बैंक र नमस्ते वित्तीय संस्थाको पनि शेयरमूल्य सात प्रतिशतका दरले बढेको छ। सिभिल बैंक, एनबी बैंक, कालिका माइक्रो तथा हाम्रो विकासलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन्।तर, रिलायबल माइक्रो, सिन्धु विकास बैंक तथा साइन रेसुङगा विकास बैंकलगायलका कम्पनीले भने धेरै गुमाएका छन्। यसदिन सानिमा बैंकको २२ करोड, लक्ष्मी बैंकको ११ करोड, कृषि विकास बैंकको ८ करोड ६० लाख, एनबी बैंकको ५ करोड ४६ लाखको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्