आजबाट रसुवागढी–केरुङ सडकखण्ड खुल्दै



नेपाल समाचारपत्र
काठमाडौं
चार दिनदेखि पूर्णरुपमा बन्द भएको रसुवागढी– केरुङ सडक खण्ड शुक्रबारबाट सञ्चालनमा आउने भएको छ। गत सोमबारदेखि बन्द भएको सडक खुलेपछि व्यापारीले विहान १० बजेदेखि बेलुका ३ बजेसम्म कन्टेनरको आवतजावत गराउन सक्नेछन्।

एक हप्ताअघि चिनियाँ भूभाग केरुङमा बाक्लो हिमपात भएको थियो। सो हिउँ पग्लिने क्रममा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। रसुवागढी नाकाबाट करिब १४ किलोमिटर टाढा पहिरो गएको हो।

‘चीनतर्फको उक्त सडकमा ब्लास्टिङको काम भइरहेकाले सडक बन्द छ,’ रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने भन्नुभयो। पहिरोले पूर्णरुपमा अवरुद्ध भएको सडक मर्मत सम्भार गर्न १० दिन जति लाग्ने भनिए पनि तीव्र गतिमा काम भएकाले चाँडै काम सम्पन्न भएको हो। चीनले पहिरो हटाउन ब्लास्टिङको काम शुरु गरेपछि केरुङ सडक अवरुद्ध छ। शुक्रबारबाट विहान १० बजेदेखि बेलुका ३ बजेसम्म खुल्ने बताउनुभएको छ।

हिमपातले गर्दा उक्त नाकाबाट व्यापारीले गर्ने दुईपक्षीय व्यापारमा प्रत्यक्ष प्रभाव पारेको थियो। पहिरो जानुअघि रसुवागढीबाट दैनिक ६० देखि ८० वटा कन्टेनर चीनको रेसुओपोर्ट हँुदै केरुङ आवतजावत गर्दै आएका थिए। रसुवागढी भन्सार नाका प्रमुख केदार पनेरुले चीनबाट कन्टेनरहरु नेपाल नभित्रिए पनि राजस्व संकलनको कार्यमा कुनै प्रभाव नपरेको बताउनुभयो।

मंगलबार ७० लाखभन्दा बढी र बुधबार करिब १ करोड रुपियाँ बराबरको राजस्व संकलन भएको पनेरुले बताउनुभयो। रसुवागढी भन्सार नाका चैत महिनामा मात्र २२ करोड रुपियाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको राखेकोमा १० करोडभन्दा माथि राजस्व संकलन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्