‘पर्यटन क्षेत्रमा हवाई सेवा ठूलो समस्या’



काठमाडौं, (नेस)
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो समस्याका रुपमा हवाई सेवा रहेको बताउनुभयो।

होटल संघ नेपाल (हान) ले ५०औं वर्ष पूरा गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सचिव अधिकारीले सो कुरा बताउनु भएको हो।

उहाँले हवाई क्षेत्रको निर्माणमा सरकारी नीतिगत व्यवस्था नै प्रभावकारी नभएकाले हालको स्थिति सिर्जना भएको उहाँले बताउनुभयो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा २५ प्रतिशत काम सकिइसकेको र आगामी २ वर्षमा सम्पूर्ण निर्माण पूरा गर्ने लक्ष्य लिइएको अधिकारीले बताउनुभयो। साथै उहाँले ठेकेदार र सहायक ठेकदारबीचको भुक्तानी विवाद समाधान हुने चरणमा पुगेको बताउँदै निर्धारित समयमा विमानस्थलको काम सकिने दाबी गर्दै एक साताभित्र गौतमबुद्ध विमानस्थलको काम सुचारु हुने बताउनुभयो।

सन् २०१८ भित्रै विमानस्थल सञ्चालनमा ल्याउने सरकारको तयारी छ। यस्तै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि जुलाईदेखि शुरु हुने सचिव अधिकारीले जानकारी दिनुभयो। दुई देशबीच केही प्राविधिक कारणले पोखरा विमानस्थल निर्माणमा गति लिन नसकेको बताउनुभयो।

होटल व्यवसायीले छलफलका क्रममा उठाएका समस्या, यस क्षेत्रका आवश्यकता र छलफलले निकालेको निश्कर्षले आगामी आर्थिक वर्षको बजेट र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने सचिव अधिकारीले बताउनुभयो।

कार्यक्रममा हान अध्यक्ष अमरमान शाक्यले कम्पनी रजिष्टारको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने अबको ३ वर्षभित्रमा ३ दर्जनभन्दा बढी स्टार होटल र ४ हजारभन्दा बढी कोठा थपिने बताउनुभयो। काठमाडौ उपत्यकामा मात्र नभई धुलिखेल, नगरकोट, चितवन, पोखरा, विराटनगर, धनगढीलगायतका मुख्य शहरमा होटल क्षेत्रको विस्तारले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने शाक्यले बताउनुभयो।

शाक्यले होटल क्षेत्रमा भइरहेको लगानीलाई दिगो र उत्पादनमुखी बनाउनका लागि सरकारले नै पर्यटन व्यवसायलाई उच्च महत्त्व दिनुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्