करिब ७० हजारद्वारा भाषा परीक्षामा आवेदन



रोविन पौडेल, काठमाडौं

कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षाको फारम बुझाउने म्याद शुक्रबार सकिँदै छ। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन फारम गत चैत ९ गतेदेखि खुल्ला गरेको थियो।

निर्धारित समय सकिन एक दिन बाँकी छँदासम्म ६८ हजारभन्दा बढीको आवेदन परेको विभागका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभएको छ।

उहाँको अनुसार यो संख्या पछिल्लो वर्षको भन्दा ७ हजारले बढी हो। गत वर्ष ६१ हजारले भाषा परीक्षाको लागि आवेदन दिएका थिए। आवेदनकर्ताको संख्या ७५ हजारभन्दा नबढ्ने उहाँको भनाइ छ। नेपाल समाचापत्रसँग कुरा गर्दै निर्देशक खतिवडाले यसपटक अवलम्बन गरिएको नयाँ प्रणालीमा कुनै समस्या नआएको बताउनुभयो। आवेदन कार्य गत वर्षको भन्दा सहज बनेको उहाँको दाबी छ।

यद्यपि, आवेदनकर्ताले गलत इमेल आइडी हाल्ने, पासवर्ड बिर्सने र केही प्राविधिक समस्या बेहार्नु परेको थियो। ‘आवेदन कार्य सहज बनाइए पनि सेवाग्राही त्यसमा अभ्यस्त नहुँदा आफैं समस्यामा परेका हुन्।’ उहाँले भन्नुभयो। सहज दर्ता तथा सेवालाई मध्येनजर गर्दै यो वर्ष आवेदनका लागि १० दिन चौबिसै घन्टा समय दिएको थियो। फारम पहिलोपल्ट अनलाईनमार्फत् भर्न सकिने व्यवस्था गरिएको थियो।

विभागका अनुसार अर्को वर्षका लागि १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन्। कोरिया सरकारले ४ हजार कामदार उत्पादनमूलक क्षेत्र र ६ हजार २ सय कामदार कृषि तथा पशुपालन क्षेत्रका लागि भाषा परीक्षा उत्तीर्ण गराउने निर्यण गरेको थियो। विभागका शाखा अधिकृत शोभाकर भण्डारीका अनुसार २०१६⁄१७ को लागि १४ हजार कामदार कोरिया जान योग्य भएकोमा अहिलेसम्म ९ हजारको हाराहारीमा उडिसकेका छन्।

कोरिया जाने भाषा परीक्षामा गत वर्ष ३ हजार १ सय कामदारको माग भएकोमा ३ हजार ५ सय १७ जनाले पास गरेका थिए। त्यस्तै सन् २०१५ मा ८ हजार ४ सय ९० जनाले भाषा परीक्षा पास गरेका थिए।

उहाँको अनुसार सन् २०१७ जनवरीयता १ हजारभन्दा बढी कोरियाका लागि उडिसकेका छन्। यसअघि सन् २०१४ मा ६ हजार २८ जना, २०१५ मा ५ हजार ८ सय ६६ जना र सन् २०१६ मा ८ हजार ७९ जना रोजगारीका लागि कोरिया प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्