प्रहरीमा बेथिति बढ्यो



दीपक रिजाल, काठमाडौं
सरकार र अदालतबीचको जुहारीका कारण नेतृत्व विहीन भएको नेपाल प्रहरीमा अहिले बेथिति बढेर गएको छ। सरकारले डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षक बनाएपछि उनको आदेशलाई प्रहरीका उच्च अधिकारीले बेवास्ता गरेको कारण सो संगठनमा अराजकता बढ्दै गएको छ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय निकायको निर्वाचनको घोषणा गरेको भए पनि निर्वाचनको सुरक्षामा खट्नुपर्ने प्रहरी अधिकृतहरू प्रहरी महानिरीक्षक को हुने भन्ने विषयलाई लिएर लविङमा व्यस्त छन् भने केही उच्च अधिकारीहरू भने आफूखुसी बिदामा बस्न थालेका छन्।

अहिले बिदामा बस्नेको संख्या बढेको बारेमा अहिलेसम्म कुनै गुनासो नआएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘बिदाका विषयमा प्रधान कार्यालयले बस्नै पर्ने मान्छेबाहेक अन्यलाई बिदा नछोड्ने नीति अख्तियार गरेको छ।’ शान्ति सुरक्षामा कुनै कमी आउन नदिन प्रहरी संगठन लागि परेको जानकारी उहाँले दिनुभयो।

प्रहरी संगठनमा अहिले प्रहरी महानिरीक्षकदेखि विभिन्न विभाग पनि निमित्तको भरमा चलेका कारण एउटै विभागमा समान पदका दुई⁄दुई जना अधिकृत कार्यरत रहेकाले एकले अर्कालाई स्वीकार गर्न नसक्दा संगठनको काममा असर परेको एक उच्च प्रहरी अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
उनी भन्छन्– ‘निमित्त दिएकाको आदेश मान्न नै आनाकानी हुन थालेपछि कहाँबाट संगठनको साख जोगिन्छ? अहिलेको अवस्था हेर्दा विभागले छिट्टै नयाँ संगठन प्रमुख पाएन भने यसले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर असर पार्ने देखिन्छ।’

सरकारले तेस्रो बरीयतामा रहेका डीआईजी जयबहादुर चन्दलाई कुनै तर्कसमेत पेस नगरी आईजीपीमा नियुक्त गरे पनि अदालतले उनको नियुक्तिलाई अवैध ठहर गरेको थियो। अहिले सरकारले नयाँ आईजीपी नियुक्त गर्न आनाकानी गरेको कारण सो संगठनभित्र एकले अर्कालाई सम्मान गर्नुभन्दा पनि एक आपसमा खुइल्याउने गरेकोले संगठनको साख गिर्दै जानु चिन्ताको विषय भएको ती अधिकारीले नेपाल समाचारपत्रसँगको कुराकानीका क्रममा बताए।

अदालतले जेष्ठता, कार्यसम्पादन मूल्यांकनदेखि तल्लो तहको नेतृत्व गर्न सक्ने व्यक्ति डीआईजी नवराज सिलवाल नै भएको किटानी नै गरेको भए पनि सरकारले भने उनलाई प्रहरी प्रमुख बनाउन किन ढिलाइ गरेको छ मैले बुझेको छैन ती अधिकारीले बताए।

‘सरकारले नयाँ आईजीपी नियुक्ति प्रक्रियालाई ढिलाइ गरेर जाने हो भने निमित्तको भरमा चुनाव गराउन सकिँदैन। कसको आदेश कसले मान्ने अहिले नै विवाद शुरु भएको छ। प्रहरी संगठन अहिले विभाजित अवस्थामा पुगेको छ।
संगठनका उच्च तहमा रहेका अधिकृतहरू कोही चन्दको, कोही सिलवालको पक्षमा लागेका छन्। यसले त संगठनलाई पक्कै राम्रो गर्दैन किन सरकारले बुझेको छैन?’ –ती अधिकारीले भने।

‘सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना भेगीय डीआईजी चन्दलाई जसरी पनि आईजीपी बनाउने बाटोमा लागेपछि कांग्रेसभित्रसमेत यसको आलोचना भएको छ तर उहाँले किन बुझ्नु भएन?’ –ती अधिकारीले भने।

अब अदालतको आदेशलाई ख्याल गर्दै सरकारले तत्कालै नयाँ आईजीपी नियुक्त गर्नुपर्ने ती अधिकारी बताउँछन्। ‘अहिले पनि आईजीपी कसलाई बनाउने भन्ने चलखेल भइरहेको छ।’ –ती अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्