बाबुराम र उपेन्द्रको एकता अन्तिम चरणमा, दुवै पार्टीका नेताहरू असन्तुष्ट



बीपी साह, काठमाडौं
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। स्थानीय निकायको निर्वाचनअघि नै एकताको घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ।

नयाँ शक्तिका तर्फबाट वार्ता समितिका संयोजक रामचन्द्र झाका अनुसार एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नेपाल समाचारपत्रसँग कुराकानी गर्दै नेता झाले भन्नुभयो– ‘एकीकरणका विषयमा सबै कुराहरू मिलेको छ। सामान्य कुराहरू बाँकी छन्। चैत मसान्तभित्रै बाँकी कुरा मिल्नेछ। वैशाख १ गते अथवा पहिलो साता नै एकताको घोषणा हुन सक्नेछ।’

एकतापछि हुने पार्टीको संरचना तथा पदीय जिम्मेवारीका विषयमा छलफल जारी रहेको झाले बताउनुभयो। नेता झाले पार्टीको बैठकमा पनि एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगको बताउनुभएको थियो।

यता संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले पनि पार्टी एकीकरण प्रक्रिया अगाडि बढेको बताउनुभयो। फोरम नेपालकै अर्का नेता राजेन्द्र श्रेष्ठले पनि पार्टी एकीकरण अन्तिम चरणमा पुगेको दाबी गर्नुभयो। नेता श्रेष्ठले एकताको मिति घोषणा भइनसकेको बताउँदै निर्वाचनअघि एकता हुन सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्