प्रियंकाको ऐना परिवार र साथी



कतिपय कलाकार यस्ता हुन्छन्, जो लोकप्रियता कमाएसँगै आफ्ना साथीभाइलाई बिर्सन्छन् र परिवारभित्र पनि स्टारको व्यवहार गर्छन्। बलिउड सुन्दरी प्रियंका चोपडाको भने कुरा अर्कै छ। उनी बलिउडदेखि हलिउडसम्म ख्याति कमाइसक्दा पनि साथीभाइ र परिवारसँग उस्तै छिन्।

प्रियंकाले आफ्नो व्यस्त सेड्युलका बीच परिवार र साथीभाइका लागि समय निकाल्ने गरेको बताएकी छिन्। उनी पछिल्ला दिन फिल्मको कामका सिलसिलामा भारत र अमेरिकाको यात्रा गरिरहेकी छिन्। ‘काममा सधैं व्यस्त भइरहेकी हुन्छु। तर पनि परिवार र साथीहरुका लागि समय निकाल्न भुल्दिनँ’, प्रियंकाले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै भनेकी छिन्– ‘म निजी र पेसागत गरी दुईखाले जीवन बिताइरहेको छु। तर दुवैतर्फ सन्तुलन गरिरहेकी छु।’ उनले अगाडि भनेकी छिन्– ‘इमान्दारीका साथ भन्नुपर्दा यसरी सधैं सन्तुलन मिलाएर राख्न मुश्किल हुन्छ। जुन कुरालाई तपाईं महत्त्वपूर्ण मान्नुहुन्छ, त्यो तपाईंले गर्नैपर्छ। म कडा मेहनत गर्छु। तर, उदाहरण पेस गर्नुपर्दा मलाई जब परिवार वा साथीहरुका लागि समय निकाल्नुपर्ने हुन्छ, म कुनै पनि हालतमा निकाली हाल्छु।’ उनले आफ्नो प्राथमिकतालाई उनको फिल्मको टिमले समेत बुझिदिने गरेकाले सरल हुने गरेको पनि बताएकी छिन्। ‘त्यसैले जब मलाई केही त्यस्तो गर्नुपर्ने हुन्छ, जो मेरो लागि महत्त्वपूर्ण हुन्छ त्यो म गरिछाड्छु। म त्यससँग जोडिने प्रयास पनि गर्छु। जसले गर्दा काममा व्यस्त हुन पनि सहयोग पुग्छ’, उनले भनेकी छिन्– ‘तपाईंको जीवनमा यस्तो मान्छे हुनु जरुरी छ, जसले तपाईंलाई ऐना देखाइदिउन् र वास्तविकतासँग परिचित गराइदिउन्। परिवार र साथीहरु त्यो ऐना हुन्।’
पछिल्लो समय प्रियंकालाई अमेरिकी टेलिभिजन शो क्वान्टिकोले नै अन्तराष्ट्रियस्तरमा लोकप्रियता दिलाएको छ। उनी बेवाचबाट समेत हलिउडमा चिनिँदै छिन्।

प्रतिक्रिया दिनुहोस्