नमुना बन्ने भो गद्दी बैठक



ईश्वरराज ढकाल, काठमाडौं
सरकारले अधिकांश राणाकालीन दरबार भत्काउने तयारी गरिरहेका बेला अमेरिकन परियोजना मियामोटो ग्लोबल डिजास्टर रिलिफ फन्टबाट रेक्टोफिट गरी निर्माण गर्न लागेको गद्दी बैठक नमुनाको हुने भएको छ।

राज्यको अधिकांश सांस्कृतिक परम्पराको शुरुआत हुने गद्दी बैठकको निर्माण एक महिनापछि हुने भएको छ। यस वर्ष विश्वभर प्रदान गरिएका मध्ये सबभन्दा ठूलो एएफसीपी परियोजनाअन्तर्गत निर्माण हुन लागिएको गद्दी बैठक २०औं शताब्दीको शुरूमा निर्माण गरिएको थियो।

राणा प्रधानमन्त्री चन्द्र शमशेरको कार्यकलमा निर्माण गरिएको गद्दी बैठकलाई भूकम्पीय प्रबलीकरण र जीर्णोद्धार गरिने भएको छ। विश्वसम्पदा क्षेत्रमा रहेको विश्वकै चर्चित गद्दी बैठकमा जीवित देवी कुमारी जात्राको शुभारम्भ र अन्त्य यसै बैठकबाट गरिने गरिएको छ। राष्ट्रपतिदेखि सरकारका विशिष्ट व्यक्तिको उपस्थिति रहने गद्दी बैठक २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो।

मियामोटो फाउण्डेशनका परियोजना प्रमुख मुकुन्द विष्टले एक महिनापछि शुरू गरिने गद्दी बैठक जुन २०१८ सम्ममा सम्पन्न हुने जानकारी दिनुभयो। गद्दी बैठकको सबलीकरण गरी जीर्णोद्धार गर्न ७ लाख अमेरिकी डलर (करिब ७ करोड ५ लाख रुपियाँ) लाग्नेछ। ‘सो रकमबाट बैठक कक्षको सम्पूर्ण काम पूरा हुनेछ।’ –परियोजना प्रमुख विष्टले भन्नुभयो।

गएको असोज १४ गते अमेरिकाको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री एभन रायनले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत गद्दी बैठक जीर्णोद्धार गर्न सात लाख अमेरिकी डलर सहयोग घोषणा गर्नुभएको थियो। राणाकालमा दाजुभाइद्वय किशोर नरसिङ राणा र कुमारनरसिङ राणाले बेलायती शैलीमा डिजाइन गर्नुभएको गद्दी बैठक विश्वकै चर्चित बैठकमध्ये एक हो। सन् १९०८ मा निर्माण गरिएको गद्दी बैठकमा राजपरिवार हनुमानढोका रहँदा सो बैठकलाई ओहदाको प्रमाणपत्र दिने र विशेष समारोह आयोजना हँुदा प्रयोग गर्ने गरिएको थियो।

राजपरिवार नारायणहिटी बस्न थालेपछि ईन्द्रजात्राको अवसरमा तत्कालीन राजाबाट जीवित देवी कुमारीलाई रथमा दर्शन गर्ने, प्रधानमन्त्रीदेखि कूटनीतिक नियोगका प्रमुखलाई सो अवसरमा भेट गर्ने कक्षको रूपमा लिइएको थियो। गणतन्त्रपछि राष्ट्रपतिले कुमारी दर्शन गरी सोही दिन अन्य पाहुनालाई भेट गर्ने कक्षको रूपमा रहेको थियो।
हनुमानढोका दरबार क्षेत्रको महत्त्वपूर्ण अंगका रूपमा रहेको गद्दी बैठकले विश्वको पर्यटकलाई आकर्षण गरेको जानकारी गराउँदै पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले अमेरिकी सरकारले गरेको यो सहयोग सबैभन्दा ठूलो र महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘भूकम्पपछिको यो सबैभन्दा ठूलो परियोजना सम्पन्न भएपछि हनुमानढोका दरबारको आकर्षण बढ्ने उल्लेख गर्नुभयो।’

रेक्टोफिट प्रविधिबाट पुनर्निर्माण गर्न लािगएको यो परियोजना पहिलो भएको छ। अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख ट्रिष्ट्रान पेरीले नेपाल र अमेरिकाको सम्बन्धलाई युगौंयुगसम्म कायम गर्न यो सहयोग गरेको बताउनुभयो।
उहाँले भन्नुभयो– ‘मियामोटो रिलिफ फन्डबाट गरेको यो नै सबैभन्दा ठूलो सहयोग हो। नेपालको सम्पदा पुनर्निर्माणका लागि अमेरिकी सरकार थप सहयोग गर्न तयार छ।’

सन् २००१ देखि एएफसीपीले सयभन्दा धेरै मुलुकमा ६ सय ४० भन्दा बढी सांस्कृतिक संरक्षणसम्बन्धी परियोजनाहरूलाई सहयोग गरिसकेको छ।

हनुमानढोका नासल चोकमा गद्दी बैठक सबलीकरण गर्ने कामको आरम्भ भएको जानकारी गराउन बिहीबार आयोजित समारोहमा संस्कृतिविद् डा. सत्यमोहन जोशीले अब नेपालको सम्पदा पुनर्निर्माण गर्दा युगौंयुगलाई ध्यान दिनुपर्ने बताउनुभयो।

‘बलियोसँग निर्माण गरेमात्रै युगौंयुग टिक्छ, त्यसैले जस्तोसुकै प्रविधि अपनाएर भए पनि नेपालका सम्पदालाई बलियो बनाउन ध्यानदिनुपर्छ।’ –उहाँले भन्नुभयो।
सबै चाडपर्वको आरम्भ हुने गद्दी बैठक सबलीकरण गर्न अमेरिकी सरकारले गरेको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यस महत्त्वपूर्ण संरचना पुनर्निर्माण गर्न सहयोग गर्ने फन्डलाई सबै नेपालीले प्रशंसा गर्नुपर्छ।’
हनुमान ढोकाका ठूला सम्पदामध्ये गद्दी बैठकको निर्माण प्रक्रिया शुरू भए पनि काष्ठमण्डप, नौतले दरबारलगायतका दर्जनौं संरचना कहिले पुनर्निर्माण हुने भन्ने विषयमा अन्योल बढेको छ।

प्रतिक्रिया दिनुहोस्