भाषा र साहित्यको उत्थानमा साहित्यकर्मीको उल्लेख्य योगदान छ– राष्ट्रपति भण्डारी



 

काठमाडौँ, १७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भाषा, साहित्यको उत्थानमा साहित्यकर्मीको उल्लेख्य योगदान रहेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा नेपाल प्रज्ञा–प्रतिष्ठानको ५९ औं स्थापना दिवसका अवसरमा आज आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सव–२०७२ र २०७३ को पुरस्कार वितरण समारोहमा उहाँले भन्नुभयो – “नेपाली सहित्यको उत्थानमा साहित्यकर्मीले ठूलो सहयोग पु¥याएको छ ।”

राष्ट्रपति भण्डारीले “प्राचीनकालदेखि अहिलेसम्म साहित्यका माध्यमबाट समाजको यथार्थता, प्राकृतिक सुन्दरता, समाजको चरित्रजस्ता कुरा राम्ररी उठान गरेर समाजलाई सचेत गराउन महत्वपूर्ण योगदान पुगेको छ भन्नुभयो ।”

नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतको ठूलो योगदान रहेको र पछिल्लो समयमा पनि यस क्षेत्रको विकासका लागि साहित्यकारहरुले सक्रिय भएर लागेको बताउँदै उहाँले नेपाली कला, भाषा र साहित्यको विकास सरकारले मात्र गर्न नसक्ने भएकाले यसमा निजी क्षेत्रका स्रष्टासहित सबै नेपाली नागरिकको सहयोग अपरिहार्य भएकोमा जोड दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुलताबीचको एकता तथा नेपाली भाषा र साहित्यको विकासमा योगदान पु¥याउने उद्देश्यले प्रत्येक वर्ष प्रतिष्ठानले कविता महोत्सवको आयोजना गर्ने गरेको जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले उक्त कविता महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

यसरी पुरस्कार पाउनेमा ललितपुरका मणिराज सिंह(लोकतन्त्रको अस्मिता) प्रथम, नुवाकोटका पुरु लम्साल (घर फर्कने कल्पना) द्वितीय र अर्घाखाँचीका असीम सागर (टेको), सिन्धुपाल्चोकका त्रिलोचन आचार्य (म नेपाली), मोरङका मञ्जुश्री गिरी (पीरको झरीले रुझिरहेको देश) तृतीय रहेका छन् ।

प्राकृतिक प्रकोपका कारण २०७२ सालमा कविता महोत्सव हुन सकेको थिएन । त्यो पनि यही वर्ष भएको थियो । प्रकाशन नभएका कवितमध्येबाट २०७२ सालमा तृतीय पुरस्कार तीन जनाले प्राप्त गरेका छन् । यसरी पुरस्कार प्राप्त गर्नेमा महोत्तरीका राजु स्याङ्तान (एउटा दासको घोषणापत्र), बझाङका सोझो गाउँले (तातो बालुवामा छाती धसिरहेको जिन्दगी) र तनहुँका सुदेश सत्याल (जन आवाज) रहेका छन् । ती सबैलाई राष्ट्रपति भण्डारीले जनही रु २० हजार नगदसहित पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा कविले आफ्ना कविता वाचन गर्नुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सुरु गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्