बसले ठक्कर दिँदा सेनाका दुई जवान घाइते



कञ्चनपुर, १७ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीनजिक बुधबार साँझ बसले ठक्कर दिँदा दुईजना मोटरसाइकलमा सवार नेपाली सेनाका जवान गम्भीर घाइते भएका छन् ।

महेन्द्रनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना ६ ख ९४४० नंको बसले विपरीत दिशाबाट आउँदै गरेको नेपाली सेनाका जवान चढेको भे २ प ५०२७ नंको मोटरसाइकललाई निकुञ्जको अर्जुनी ब्यारेकनजिक ठक्कर दिँदा मोटरसाइकलमा सवार जवान २६ वर्षीय हर्कबहादुर बोहरा र २५ वर्षीय सन्तोष चौधरी गम्भीर घाइते भएका हुन् ।

घाइतेमध्ये बोहरा कञ्चनपुरका र चौधरी बर्दियाका बासिन्दा रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो ।

दुवैजनाको यहाँस्थित अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुरतर्फ लगिएको उहाँले बताउनुभयो । दुवैजना कुन ठाउँमा कार्यरत रहेको भन्नेबारे खुल्न सकेको छैन । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्