खाद्य संस्थानलाई कर्जाको भारी आम्दानी ११ करोड, साढे ५६ करोड खर्च



सन्तोष खनाल, काठमाडौं
आद्यान्न सम्बन्धी काम गर्दै आएको नेपालको एक मात्र सरकारी निकाय नेपाल खाद्य संस्थान कर्जाको भरमा चलेको छ। खाद्यान्नको कारोबारमा मुनाफा नहुँदा र सरकारी अनुदान अत्यन्त कम हुँदा संस्थानलाई ऋण दिएर चलाउन परेको हो।
देश भर २ सय ७४ कर्मचारी पालेको संस्थानले कर्मचारीको तलव सुविधा देखि कार्यालय खर्च सम्मको आर्थिक व्यवस्थापन समेत कर्जा लिएर गर्ने गरेको छ।

नेपाल बैंक लिमिटेडबाट ६५ करोड कर्जा लिएको संस्थानलाई बार्षिक ५करोड ब्याज मात्र पर्र्नेे गरेको छ। सस्थानले विपतका लागि आएको बैदेशिक सहायताको खाद्यान्न बेचेर संस्था चलाएको छ।

उत्पादक कृषकको हितका लागि उचित मूल्यमा खाद्यान्न खरिद गरी अन्य ठाउँमा बिक्री गर्दै आईरहेको संस्थानलाई खाद्यान्न खरिद गरेको लागत मूल्य नै उठ्दैन।वैदेशिक सहायताबाट जम्मा भएको खाद्यान्न बेचेर आन्तरीक परिचालन गर्ने गरेको छ। सहायताका लागि आवश्यक खाद्यान्न वितरण पछि बचेको खाद्यान्न बजारमा बेचेर आएको २९ प्रतिशत रकम संस्थान संचालनको काममा प्रयोग गरीएको संस्थानले जनाएको छ। गत साल बंगलादेशबाट १ लाख र यो बर्ष पनि फेरी १ लाख गरी २ लाख मेट्रीक टन चामल खाद्य संस्थानमा आएको थियो भने चीन बाट नुन र चामल गरी ५० टन आएको संस्थाले जनाएको छ।

सरकारी अनुदानको रुपमा ढुवानीका लागि मात्रै रकम दिने गरेको संस्थानका विभागिय प्रमुख शिरोमणीराज खनालले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल सरकारबाट ढुवानी अनुदान शिर्षकमा ४६ करोड रुपैयाँ संस्थानले बार्षिक रुपमा पाउने गरेको छ। ‘ढुवानी बाहेक साढे ५६ करोड अन्य खर्च छ’ प्रमुख खनालले भन्नुभयो, ‘जेन–तेन सरकारी अनुदानबाट ढुवाई पुर्याएका छौं।’ एकातिर किसानको हितका लागि धेरै मूल्य तिर्नुपर्ने अर्को तिर बजारको अबस्था हेर्दा निकै सस्तोमा दिनुपर्ने अबस्थाले संस्थान आर्थिक समस्यामा पर्ने गरेको उहाँको भनाई छ।

कृषकको उत्पादन उचित मूल्यमा खरिद गरी विक्रि गर्ने गरेको खाद्य संस्थानले आफ्नो गोदाममा नअटेका खाद्यान्न भण्डारण गर्न थप गोदाम भाडामा लिने गरेको छ। संस्थानले यातायात सुविधा नभएको हुम्लामा जहाज मार्फत चामल लगायतको खाद्यान्न ढुवानी गर्दै आएको छ। सुर्खेत बाट हुम्लामा चामल ढुवानी गर्दा संस्थानलाई ढुवानी खर्च मात्रै प्रति क्वीन्टल ८ हजार रुपैयाँ पर्ने गरेको संस्थानले जनाएको छ। संस्थानले सुपथ मूल्य सहकारी संचालन देखी काठमाण्डौं उपत्यकामा घुम्ति खाद्यान्न शिविर संचालन समेत गरीरहेको छ। उपत्यकामा ३ वटा संस्थानका ट्रक खाद्यान्न बोकेर गल्ली गल्ली डुल्ने गरेको संस्थानले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ।

संस्थानले आधुनिक चामल कारखाना राजापुरबाट धान कुटेर चामल पठाउने गरेको छ। त्यस्तै जनकपुर मिलबाट बासमति र जीरा चामल खरीद गरी काठमाण्डौं ल्याएर बेच्ने गरेको छ। दुर्गमका हुम्ला, जुम्ला, मुगु र कालिकोटमा त्यहाँका कृषकको आत्मबल बढाएर उत्पादन गर्न प्रोत्साहन गर्ने उद्देश्यले त्यहाँ उत्पादन हुने सिमी, फापर र उवा काठमाडौं ल्याएर बेच्न शुरु भएको खाद्य संस्थानले जनाएको छ। संस्थानले दैवी विपत्तीको बेला खाद्यान्न संकट पर्न नदिन रणनीति बनाएर काम गर्ने, २३ दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्ने, कृत्रिम आभावका बेला बजार हस्तक्षेप गरेर स्टक खाद्यान्न बजारमा पुर्याउने, सस्तो पसलहरू संचालन गर्ने लगायतका कामहरू गर्दै आएको छ।

नेपाल खाद्य संस्थानको पूर्वमा ३५ वटा गोदाम छन, जसमा ३० हजार ४ सय ८० मेट्रीक टन भण्डारण क्षमता रहेको छ। केन्द्र काठमाण्डौका ४८ वटा गोदाममा ३४ हजार ५ सय, पश्चिमका १५ गोदाममा ७ हजार १ सय ५०, मध्यपश्चिमको ३७ गोदाममा १५ हजार ५ सय र सुदुर पश्चिमको २९ वटा गोदाममा ११ हजार ६ सय ८० मेट्रीक टन गरी जम्मा १ सय ६४ वटा गोदाममा ९९ हजार ३ सय १० मेट्रिक टन खाद्यान्न भण्डारण गरेको छ। संस्थानको काठमाण्डौमा १ हजार मेट्रिक टन क्षमताको एउटा, मध्य–पश्चिममा ४ सय मेट्रिक टन क्षमताको २ वटा र सुदुर पश्चिममा १ सय मेट्रिक टन क्षमताको एउटा गरी जम्मा १५ सय मेट्रिक टन क्षमताको ४ वटा नयाँ गोदाम निमार्णको क्रममा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्