संस्कृतिलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड होमस्टको अभियानप्रति गुठीयारहरूको प्रतिबद्धता



नेपाल समाचारपत्र
ललितपुर
संस्कृतिलाई आर्थिक विकाससंग जोड्नु त्यसको संरक्षणको बलियो आधार हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघको संयोजनमा गठित यल सांस्कृतिक पर्व संरक्षण समितिले जिल्ला समन्वय समितिको सहयोगमा मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सम्बद्ध व्यक्तिहरूले सो धारणा अघि सारेका हुन्। जावलाखेलस्थित श्री उग्रचण्डीमाई परिसरमा आयोजना गरिएको सो अन्तक्र्रिया संस्कृति संरक्षणमा दीगो विकास, चुनौती र अवसर विषयमा भएको थियो।
सो अवसरमा समितिका अध्यक्ष सविन श्रेष्ठले संस्कृतिलाई अर्थतन्त्र, पर्यटक उद्योग प्रर्वद्धनसंग जोडेर अघि बढाउनु संरक्षणका एक बलियो उपाय हुने धारणा राख्नुभयो। वाणिज्य संघको अध्यक्ष समेत रहनुभएका समितिका अध्यक्ष श्रेष्ठले पाटन दरबार क्षेत्रको लिच्छिविकालीन सम्पदा मुआगं छेँसंग सम्बन्धित कतिपय मूर्त र अमूर्त संस्कृतिहरू लोप भइसकेको र कतिपय लोप हुने क्रममा रहेको सरोकारवालाहरू गम्भीर हुनुपर्ने बताउनुभयो।

सो अवसरमा कार्यक्रमका संयोजक एवं ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकारले संघले अघि सारेको होमस्टेको अभियान संस्कृति संरक्षणको बलियो आधार हुन सक्ने बताउनुभयो। वरिष्ठ उपाध्यक्ष ताम्राकारले उपत्यकामा घुम्न आउने पर्यटकहरूले ललितपुरमा मुस्किलले दुई घण्टा बिताउने गरेको उल्लेख गर्दै पर्यटकहरूको बसाई लम्ब्याउन संस्कृति पर्वहरू संरक्षण र सञ्चालनले टेवा पुग्ने धारणा राख्नुभयो। ललितपुर उद्योग वाणिज्य संघका महासचिव भरतलाल जोशीले जिल्लाको संस्कृति, सम्पदा आर्थिक विकासको महत्व आधार रहेको बताउनुभयो।

सो अवसरमा संस्कृतिबारे अध्ययन गर्दै आउनुभएका पत्रकार प्रशान्त मालीले कार्यपत्र प्रस्तुत गर्दै संस्कृतिलाई राज्यले खासै प्राथमिकतामा नराखिएको, विनियोजित रकम अपुग, सरोकारवाला गुठीयारहरूबीच समन्वय, एकता र प्रशासनिक पहुँचको अभावमा संस्कृति संरक्षणमा समस्याहरू उत्पन्न भएको धारणा राख्नुभयो।

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको कार्यसमिति सदस्य समेत रहनुभएका पत्रकार मालीले संस्कृतिलाई आर्थिक विकाससंग जोड्नुपर्ने, सरोकारवालाहरू एकजुट भएर सरकारी निकायलाई घचघच्याउनुपर्ने, राष्ट्रिय लक्ष्य अनुरुप पर्यटक भित्र्याउन सस्कृति बलियो माध्यम रहेको बताउनुभयो।
कार्यपत्रप्रति आ आफ्नो धारणा राख्दै ठेचो नवदुर्गा नाचका गुठीयार एवं नेपाल माली समाजका सचिव बसन्त मालीले सम्बन्धित गुठीयारहरूको आर्थिक अवस्था बलियो नभईकन संस्कृति जोगाउन नसकिने बताउँदै त्यसका लागि सामुदायिक होमस्टेको अवधारणा कार्यान्वयन गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुआगं छेका प्रतिनिधि साम्राज्य श्रेष्ठ, अष्टमातृका नाच संरक्षण समितिका अध्यक्ष राजेन्द्र शाक्य, खोकना रुद्रायणी गुठीका धनबहादुर महर्जन, हौगः पायो गुठीका सन्तमान महर्जन, कार्तिक नाच संरक्षण समितिका प्रतिनिधि सञ्जय शर्माले जात्रा पर्व सञ्चालनमा बजेट अपुग, प्रशासनिक झन्झटिलो, सरकारी निकायले खासै प्राथमिकतामा नराख्नु, सम्बन्धित गुठीयारहरूको आर्थिक अवस्था सुधार्ने कार्यक्रम नल्याउनु मुख्य कारणहरू रहेकोमा केन्द्रीत गर्दै आ आफ्नो अनुभव सुनाउनुभयो।
सो अवसरमा गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले गुठी संस्थानको सीमित बजेटकारण जात्रा, पर्व संस्कृति संरक्षणमा अपेक्षाकृत कार्य गर्न नसकेको स्वीकार गर्दै सीमित बजेट सदुपयोग गर्ने बारे सरोकारवालाहरूबीच छलफल गरेर समाधानका बाटो निकाल्न सकिने बताउनुभयो।

सो अवसरमा ललितपुर महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख प्रवीण श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका सामाजिक विकासका अधिकृत विश्वेश्वर कोइराला, ललितपुर महानगरपालिकाका सम्पदा संरक्षण शाखाका अघिकृत चन्द्रशोभा शाक्य, गोदावरी नगरपालिकाका अधिकृत सन्तबहादुर बस्नेतले जात्रा पर्वका सम्बन्धित गुठीयार, सरोकारवालाहरू स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सहभागी हुनुपर्ने र माग बमोजिम संस्कृति संरक्षणका लागि आवश्यक कार्यहरू गर्न तयार रहेको विषयमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो।
अन्तक्र्रियाको नीष्कर्ष प्रस्तुत गर्दै नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका सचिव राजेश बज्रचार्यले सरोकारवालाहरूबीच निरन्तर छलफल गर्ने साझा मञ्चका रुपमा समितिलाई विकास गर्नुपर्ने, संस्कृति र अर्थतन्त्रलाई जोडेर अघि बढाउनुपर्ने, स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा सहभागी हुनुपर्ने, सरोकारवालाहरूको क्षमता बढाउनुपर्ने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्