पार्टी राजनीति र आदर्श



डा. ईश्वरीप्रसाद गैरे
यो सार्वभौम सत्ता सम्पन्न जनताको अधिकार भएको देश, राजनीतिमार्फत शासनसत्ताको हालिमुहाली गर्ने संस्थाहरू नै वर्तमान नेपालका राजनीतिक पार्टीहरू भइरहेछन्। जस्तो बीउ रोप्यो त्यस्तै बिरुवा र फल फल्ने भएझैँ पार्टी कस्ता छन्, कस्तो राजनीतिमा संलग्न छन्, त्यसअनुरूप नै देशको राजनीतिक सत्ता सञ्चालित र परिचालित हुने हुँदा पार्टी र पार्टीको राजनीति राष्ट्रको अहम् सवालभित्र पर्ने कुरा प्रस्ट छ। साँच्चै भन्ने हो भने, नेपालको राजनीतिमा पार्टी गतिविधि र पार्टी राजनीति एक गहन, एक संवेदनशील र एक मार्मिक सन्दर्भ भएको कुरालाई नकार्न सकिँदैन। यसर्थ पार्टी राजनीतिका केही महत्वपूर्ण सन्दर्भलाई यहाँ यसरी हेर्न सकिन्छ।

पार्टी संरचनाः
नेपालको राजनीतिक पार्टीहरूको संरचना माथिल्लो तहदेखि तल्लो तहसम्म र तल्लो तहदेखि माथिल्लो तहसम्म सशक्त संरचना भएका र आफैंमा संगठन मजबुत भएका पार्टीहरू हुनुपर्दछ। पार्टीको संरचना कसिलो, सशक्त र मजबुत भएपछि मात्र पार्टीको राजनीतिक क्रियाकलाप पार्टीगत राजनीतिक कार्यका रूपमा बेजोड र दमदार बन्न सक्छ। कतिपय पार्टीमा यस्तो देखिएको छ, नेता नेतामै ऐक्यबद्ध छैनन् भने कार्यकर्ता कार्यकर्तामै ऐक्यबद्ध छैनन् अनि पार्टी गतिविधि छिरोल्लिएर पार्टी स्वयंमा अस्तव्यस्त भएको पाइन्छ। पार्टीको यस्तो छितरिएको र छिरोल्लिएको अवस्था हुनु पार्टी राजनीतिगत संरचना कमजोर हुनु हो। तसर्थ राजनीतिक यात्रा सफल पार्नका निम्ति पार्टीगत संरचनात्मक स्वरूप सशक्त एवम् मजबुत बन्नै पर्दछ।

पार्टी मर्यादाक्रमः
पार्टीगत राजनीतिक गतिविधिका क्रममा ठूलो नेता, मझौलो नेता र सानो नेता गरी कार्यकर्तासम्म पार्टी मर्यादाक्रम बाँधिनुपर्दछ, पालन गर्नुपर्दछ र कार्य गर्नुपर्दछ। साथै ठूलो कार्यकर्ता, मझौला कार्यकर्तादेखि सानो कार्यकर्तासम्म पार्टी मर्यादाक्रमको व्यवहार, विचार र चिन्तनको प्रयोग हुनुपर्दछ। यसरी पार्टीमा मर्यादाक्रम सुचारू गर्नुपर्दछ। कहिलेकाहीँ ठूला–ठूला नेताबीच भइरहेको प्रतिस्पर्धा, वैयक्तिकता र कटुता अनि विरोधका कारण पार्टी टुक्रिने, पार्टीमा लबी सिर्जना हुने र पार्टी संरचनागत शक्तिमा अवरोध आउने जस्ता कुरा भइरहेका पाइन्छन्। यसरी पार्टीको टुटफुट र जुटले पार्टीलाई डुबाएको छ भने त्यो राजनीतिक पार्टीको भविष्यमै ह्रास आउन थाल्छ। यसर्थ यो निश्चित छ, प्रत्येक पार्टीमा राजनीतिक यात्राका क्रममा पार्टी मर्यादाक्रमको पालन अटुटरूपमा गर्नै पर्दछ। पार्टी मर्यादाको आदर्शक्रममार्फत सुचारू र सम्बद्ध गरिनुपर्दछ।

पार्टी अनुशासनः
अनुशासनविनाको कुनै पनि भीड वा जमात निश्चित लक्ष्य र निश्चित गन्तव्यतिर जान सक्दैन। यसर्थ पार्टी राजनीतिभित्र पार्टी अनुशासन अत्यन्त अनिवार्य र महत्वपूर्ण कुरा हुन पुग्छ। पार्टीमा मुख्य नेता, ठूला नेता र सहायक नेतासहित सामान्य नेता र हरेक किसिमका कार्यकर्ताबीच सैद्धान्तिक अनुशासन, व्यावहारिक अनुशासन र क्रियाकलापबीच अनुशासन हुनै पर्दछ। अनुशासन र अनुशासनका आदर्श क्रियाकलापले पार्टी गतिविधि सुचारु हुनै पर्दछ। यसर्थ अनुशासन नभएको पार्टीबाट राजनीति सञ्चालन गरिएमा त्यो पार्टी सत्तामा जान सफल भए पनि त्यो पार्टीको राजनीतिक गतिविधिगत भविष्य आउँदा दिनमा तासको घरझैँ भताभुंग हुन पुग्ने कुरामा एकमत हुन सकिन्छ।

पार्टी आचारसंहिताः
कुनै पनि नेता–कार्यकर्ता पार्टीको निश्चित आचारसंहिताभित्र बस्नुपर्दछ। पार्टीले पार्टीगत भविष्यका निम्ति आकर्षक महत्वपूर्ण र जोडदार आचारसंहिता निर्माण गर्नुपर्दछ। पार्टीमा यस्तो आचारसंहिता निर्माण भएन र त्यसअनुरूप पार्टी नेता र कार्यकर्ता परिचालित भएनन् भने पार्टीको दिगो राजनीति समाप्त भएर जाने डरसमेत हुने गर्दछ। यसर्थ पार्टी आचारसंहिता, पार्टीभित्रका सबैलाई कायम हुने गरी लागू गरिनुपर्दछ। पार्टीभित्र बसेर पार्टी आचारसंहिता मिची कुनै पनि नेता–कार्यकर्ता हिँड्छन् भने निश्चित छ त्यसलाई कारबाही गर्नसमेत पार्टी र पार्टीबद्ध सबैले ख्याल वा पहल गर्नै पर्दछ।

पार्टी संगठनः
कुनै पनि पार्टी निश्चित पार्टी संगठनविना चल्न सक्दैन। पार्टीका प्रत्येक नेता–कार्यकर्ता पार्टी संगठनमा गोलबद्ध भई ऐक्यबद्ध भएर बस्ने पर्दछन्। पार्टी राजनीतिका लागि एकढिक्का भएर पार्टी संगठनमा लाग्नै पर्दछ। जसरी शरीरका प्रत्येक अंग सशक्त र चुस्त भएमा शारीरिक संगठन बलियो बन्दछ, ठीक त्यसै गरी पार्टीका प्रत्येक अंगका संरचना संगठनमा सशक्त र चुस्त बन्नै पर्दछ। यस्तो नभएमा, संगठन नबनेमा संगठनविनाको पार्टीमा रिडको हड्डीविनाको शरीरजस्तै हुन पुग्छ। यसर्थ कुनै पनि पार्टीले संवेदनशील भएर पार्टी संगठनलाई तदारुकताका साथ लागू र बलियो एवम् सशक्त बनाउनुपर्दछ।

पार्टीको राजनीतिगत शासन सत्ताः
नेपालका सन्दर्भमा जुनसुकै पार्टी पनि शासन सत्तामा गएपछि त्यसको राजनीतिक क्रियाकलाप क्षीण र ह्रास बन्दै गएको देख्न सकिन्छ। नेताले पार्टी र पार्टी कार्यकर्ताले पार्टी जीवनको आदर्श बिर्सिंदै गएको देख्न सकिन्छ। पार्टीमा हुँदा सशक्त भएको र पार्टी राजनीतिक सत्तामा पुगेपछि संरचना, संगठन, अनुशासन, मर्यादा, आदर्श सबैलाई भुलेर भोगवादी शासकीय जीवन बिताउँदै, पार्टीको आदर्श जीवन समाप्त पार्दै लगेको देख्न सकिन्छ। फलस्वरूप पार्टी लोभले लाभ लाभले विलापको स्थितिमा पुगेर उभिएको देख्न सकिन्छ। साँच्चै भन्ने हो भने, पार्टीगत राजनीतिक जीवन सत्तामा, प्रतिपक्षमा र स्वतन्त्ररूपमा जहाँ जे भए पनि पार्टीको भविष्य दिगो बनाउने अर्थमा महत्व र अत्यावश्यकतामा परिचालित भने गर्नै पर्ने देखिन्छ।
पार्टी जीवनको आदर्शः
पार्टीलाई दीर्घजीवी र लामो भविष्यसम्म दिगो राख्नका निम्ति पार्टीगत आदर्श कायम गर्नै पर्दछ। वर्तमान नेपालका राजनीतिक पार्टीहरूको भविष्य बिस्तार–बिस्तार हराउँदै जानुमा यी पार्टीभित्र पार्टीगत आदर्श र त्यो आदर्शअनुरूप व्यवहार सञ्चालन नभएकाले नै यस्तो भएको देख्न सकिन्छ। पार्टीका मूल नेता, ठूला नेतासहित कार्यकर्तासमेतको आदर्श र राजनीतिक आदर्शमय जीवनका अनुयायीका आदर्शले पार्टी जीवन्त, गतिशील एवम् दिगो भविष्ययात्री बन्न सक्छ। यसरी भन्नुपर्दा आदर्शवादी पार्टी कसले मन नपराउला ? आदर्शवादी नेता कसले मन नपराउला र आदर्शवादी कार्यकर्ताको काँधमा काँध कसले नथाप्ला ? यसर्थ नेपालका पार्टीहरूले यो ख्याल गर्नै पर्दछ। पार्टीमा बस्दा पार्टीको आदर्शमा संलग्न भई हिँड्नै पर्दछ, बस्नै पर्दछ।

पार्टीको भविष्यः
पार्टीका नेता, कार्यकर्ता र पार्टी शुभेच्छुकहरूले गर्दा नै पार्टीको भविष्य निर्धारित हुने गर्दछ। पार्टी राजनीतिक शासन सत्तामा जाँदा मात्र होइन, पार्टी जुनसुकै ठाउँमा गए पनि यो निर्धारित हुनै पर्दछ, पार्टीको भविष्य के हो ? किनभने पार्टी भनेको धेरै सदस्यहरूको सामूहिक संगठित संस्था हो। यस्तो संगठित संस्थाको भविष्य हुनै पर्दछ। यसको भविष्यका निम्ति पार्टीका क्रियाकलाप, व्यवहार र क्रिया–प्रतिक्रिया साराका सारामा पार्टीको भविष्य सुनिश्चित गरेर मात्र हिँड्नुपर्दछ।

प्रायः नेपालमा बहुदलका पार्टीहरू शासन सत्तामा गएपछि पार्टीको भविष्य नै भुलेर क्षणिक राजनीतिक सत्ताको लोभ, लालच, स्वार्थमा लागेको देखिन्छ। यसरी नराम्रा क्रियाकलापमा संलग्न भई पार्टीको भविष्य नै स्वाहा र खत्तमसमेत गर्न पुगेको देख्न पाइन्छ। यस्तो हुनु भनेको पार्टी र पार्टी जीवनको समापन अनि समाप्ति हुनु हो। यसर्थ पार्टी जीवनमा पार्टीको सिद्धान्त र आदर्श अनि क्रियाकलापले पार्टीको भविष्य जे गरेर भए पनि दिगो भने बनाउनै पर्दछ।

पार्टीको निश्चित सिद्धान्त र मूल्य–मान्यताः
पार्टीलाई कसरी व्यवस्थित, मजबुत, बलियो र दिगो बनाउने ? त्यसका निम्ति पार्टीगत निश्चित सिद्धान्त बनाउनै पर्दछ। विदेशी नेताहरूको नाम र त्यसकै सिद्धान्तको पिछलग्गुभन्दा पनि राष्ट्रिय जीवनको निश्चित सिद्धान्तको निर्माण भने गर्नै पर्दछ। पार्टीका नारा मात्रै आकर्षक भएर, भाषणमा ताली मात्रै बजाएर सिद्धान्तहीन संगठनको यात्रा कतै हुन्छ भने त्यो निश्चित छ– यस्तो समूह र संस्थाको भविष्य दिगो हुन सक्दैन।

कुनै पनि पार्टीको निश्चित सिद्धान्त निर्माण हुनै पर्दछ। सिद्धान्तको बलियो टेको लिएर त्यो अडिएको हुनै पर्दछ। सिद्धान्त नूनसहितको तरकारी हो भने सिद्धान्तविनाको पार्टी नूनविनाको तरकारी हो। त्यो खल्लो, बेस्वादे र कुनै मोजमज्जा अनि आनन्दको दिगो भविष्य नभएको जमातको समूह हो।
पार्टीको निश्चित सिद्धान्त मात्रै होइन त्यसका मूल्य–मान्यता पनि बेजोड किसिमका हुनै पर्दछ, बन्नै पर्दछ। पार्टीको दिगो भविष्यका निम्ति निश्चित सिद्धान्त, निश्चित मूल्य–मान्यता निर्माण गर्दै तिनलाई एउटा आदर्श राजनीतिक यात्रामा परिचालित गरी अगाडि बढाउनै पर्दछ। यसरी निश्चित सिद्धान्त, निश्चित मूल्य–मान्यता भएमा मात्र पार्टी दिगो भविष्यसम्म मजबुत, बलिष्ठ र भविष्यवादी बन्न सक्छ।

पार्टीको राष्ट्रिय सिद्धान्त र दिशानिर्देशः
नेपालका प्रत्येक पार्टीले आफ्नो एउटा राष्ट्रिय सिद्धान्त र निश्चित नीति निर्माण गर्नै पर्दछ। पार्टीको नीतिमा राष्ट्रिय नीतिलाई माथिल्लो तवरमा संयोजन गर्नुपर्दछ। पार्टीको मूल ऐजेन्डा भनेको मूल्य र लक्ष्य हो। पार्टी नीतिमा राष्ट्रिय सिद्धान्त र त्यसको नीतिको निश्चित दिशानिर्देश हुनै पर्दछ। साथै पार्टी सिद्धान्त, राष्ट्रिय सिद्धान्तअनुरूप कसरी सञ्चालन र परिचालन गर्नुपर्दछ, त्यसमा समेत निश्चितता र दीर्घगामी परिमितता हुनै पर्दछ।

यसरी माथि भनिएका पार्टी संरचना, पार्टी मर्यादाक्रम, पार्टी अनुशासन, पार्टी आचारसंहिता, पार्टी संगठन, पार्टीको राजनीतिक शासन सत्ता, पार्टी जीवनका आदर्श आदि पार्टीका लागि महत्वपूर्ण कुरा हुन्। साथै पार्टीको निश्चित सिद्धान्त र मूल्य–मान्यता, पार्टीको राष्ट्रिय सिद्धान्त, नीति र दिशानिर्देशजस्ता पार्टी राजनीतिगत मूल्य–मान्यता एवम् आदर्शको परिचालन गरिएमा निश्चित छ– पार्टीको भविष्य उज्ज्वल एवम् गतिमान हुनेछ।

प्राकृतिक स्रोतको ब्रह्मलुट

प्रकृतिले सित्तैमा दिएको उपहारलाई प्रहरी, प्रशासन, स्थानीय ठेकेदार, गुन्डा नाइकेहरू मिलेर ब्रह्मलुट गरिरहेका छन् । प्राकृतिक स्रोत दोहन गर्ने अवैध धन्दालाई प्रहरी प्रशासनले संरक्षण मात्र गरेको छैन यो स्रोत दोहन गर्नेसँग लाखौं रुपियाँ कुम्ल्याइरहेका पनि छन् । नदीकिनारमा छ्याप्छ्याप्ती देखिने अवैध बालुवा खानी तथा क्रसर उद्योगको गैरकानुनी धन्दा नियन्त्रण गर्न नसक्दा आमउपभोक्ताले महँगी व्यहोर्नुपरेको छ । राजधानीबाट नजिकै रहेको इन्द्रावती नदी र सुनकुशी नदीबाट अवैधरुपमा निकालिएको बालुवाको कारोबार हेरे मात्र पनि प्राकृतिक स्रोतको दोहन कसरी भएको छ र प्रहरी प्रशासनको मिलेमतोमा रातारात लाखौं रुपियाँको गैरकानुनी कारोबार कसरी हुन्छ भन्ने कुरा छर्लंग हुन्छ ।
सरोकारवाला निकायको अनुगमनको बेला बन्ने रिपोर्ट र फिल्डमा गएर सामान्यरुपमा हेरे मात्र पनि दुईनम्बरी धन्दा हुने गरेको अनुमान लगाउन गाह्रो हुँदैन । नदीभित्र मिसिन लगाएर ६० फिटभन्दा गहिरो गरी बालुवा निकालिएको हुन्छ । अनुगमन टोली जाँदा जहाँ गहिरो छैन त्यहीँ नापजाँच गरेर ठीक छ भन्छन् । क्रसर उद्योगहरूको कर छलीको बारेमा राम्रोसँग अनुगमन हुन सकेको छैन । एक टिपर बालुवाको मूल्य उपभोक्ताको सम्म आइपुग्दा ठाउँ हेरेर ३० हजार रुपियाँसम्म पर्छ । नदीमा सित्तैमा पाउने बालुवा वैध तरिकाले उत्खनन गर्नेले राज्यलाई कति रकम तिर्छन् र अवैध तरिकाले उत्खनन गर्नेले कति रकम तिर्छन्, त्यसलाई अनुमान लगाउँदा पनि थाहा हुन्छ कतिसम्म ब्रह्मलुट भएको छ भनेर ।

मासिक हजारौं टिप बालुवा किनबेच हुने ठाउँबाट राज्यलाई कति कर उठेको छ ? दर्ता गरेर सञ्चालन गरेको उद्योगले दैनिक नदीमा कतिवटा मिसिनले बालुवा निकालिरहेका छन् ? कति गहिराइबाट बालुवा निकालेका छन् ? नदीको किनारैभरि मजदुरहरूले समूह–समूह बनाएर निकालिएको बालुबाको मूल्य कति ? उनीहरूबाट प्रतिटिपको दरले प्रहरी, प्रशासन, ठेकेदार र स्थानीय गुन्डाहरूले दैनिकरुपमा असुल्ने गरेको रकम कति हुन्छ ? यस्ता प्रश्नहरूको उत्तर खोज्न फिल्डमै गएर राम्रोसँग अनुगमन र निरीक्षण गर्नुपर्ने हुन्छ ।

काभ्रेको दोलालघाटबाट मेलम्चीसम्म इन्द्रावती नदी र सिन्धुपाल्चोकको चेहेरेदेखि यता नेपालथोकसम्म सुनकोशी नदीबाट बालुवा निकाल्नेको संख्या एक सयभन्दा बढी छ । ठाउँ–ठाउँमा ढुंगा–रोडा उद्योगहरूको संख्या पनि त्यत्तिकै छ । बालुवा, रोडा, ढुंगाबाट मात्र प्रहरी प्रशासनको कमाइ मासिक लाखौं हुने गरेको समाचार नियमित सार्वजनिक भैरहेको छ । प्राकृतिक स्रोतमाथि अवैध दोहन रोक्ने निकाय नै मिलेमतोमा साथ दिएपछि रोक्ने कसले ? सम्बन्धित निकायको बेलैमा ध्यान पुगोस् ।

प्रतिक्रिया दिनुहोस्