सगरमाथाको उचाइ घटेको हो र? आफै नाप्ने तयारीमा सरकार



प्रशान्त वली, काठमाडौं
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफै पहल अघि बढाएको छ। २०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुन सक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले आफै पहल अघि बढाएको हो। नापी विभागले सगरमाथाको उचाइ नेपालले नाप्न सक्ने जनाएको छ। त्यसका लागि नापीले चरणबद्धरूपमा विभिन्न निकायसँग छलफल गरेको छ।

सगरमाथाको उचाइ नाप्न कम्तीमा १० करोड रुपियाँ खर्च लाग्ने भन्दै त्यसका लागि आगामी आर्थिक वर्षमा सरकारसँग बजेट माग गरिने गरी तयारी थालिएको विभागका प्रवक्ता अनिल मरासिनीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा बजेट माग गरिए आगामी आथिक वर्षमा सरकारले केही रकम छुटइउन सक्ने भएकाले पनि सगरमाथाको उचाइ मापनका सन्दर्भमा छलफललाई तीव्र पारिएको विभागले बताएको छ।

सो रकम मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिनेहरूका लागि विशेषज्ञ तालिम र कर्मचारीहरूमा खर्च हुने बताइएको छ। उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रविधि भू–उपगहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा रहेका छन्।
अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दश पटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिकरूपमा मान्दै आएको उचाइ यही भारतीय टोलीको रहेको नापी विभागले बताएको छ।

सो टोलीले सगरमाथाको उचाइ ८८४८ मिटर रहेको जनाएको थियो। केहीअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भारतले सर्वे टोली नेपाल पठाउने भने पनि त्यसतर्फ कदम अघि बढ्न सकेको छैन। अहिलेसम्म सो टोली नेपाल आएको छैन। भारतका नापी प्रमुख स्वर्ण सुब्बा राओले गत माघ महिनामा भारतमै पत्रकार सम्मेलन गरी दुई महिनाभित्र सर्बे टोली नेपाल पठाउने बताउनुभएको थियो। नापी प्रमुख राओका अनुसार सगरमाथामा एक महिना बिताएर अध्ययन गरिने र निष्कर्ष सार्वजनिक गर्न थप १५ दिन लाग्ने आंकलन गरिएको थियो।यद्यपि टोली आउने भनेको दुई महिना बित्नै लाग्दा पनि आउने नआउने पत्तो छैन। चैत दोस्रो साता बितिसक्दा पनि सगरमाथाको उचाइ नाप्नका लागि भारतको नापीले नेपाल सरकारसँग अनुमति लिएको छैन।
भारतीय सर्वेक्षण विभागले झण्डै दुई वर्षअघि गएको भूकम्पका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ वा घटेको छ भन्नेबारे निधो गर्न छिट्टै ३० सदस्यीय टोली पठाइने बताएको थियो। भारतीय सर्वे टोली नेपाल आउने भन्ने सुने पनि सरकारसँग अहिलेसम्म अनुमति नलिएको नापी विभागले बताएको छ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सरकारसँग अनुमति लिएको भए आफूहरूलाई जानकारी हुनुपर्ने भन्दै अहिलेसम्म अनुमति नलिएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो,– ‘सगरमाथाको उचाइ नाप्न भारतीय टोली आउनेबारे आफूहरूलाई आधिकारिक जानकारी छैन। सरकारको अनुमति नलिएर सगरमाथाको उचाइ नापियो भने त्यसले आधिकारिकता पाउँदैन। सरकारले अनुमति दिएको भए नापीलाई त जानकारी आउँथ्यो होला।’

प्रतिक्रिया दिनुहोस्