रक्तदान अभियन्तालाई श्रद्धाञ्जली



नेपाल समाचारपत्र
काठमाडौं
‘रक्तदान जीवनदान’ लाई सार्थकरूपमा चरितार्थ गर्न रगत नपाएर छट्पटाइरहेका बिरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गराउने कार्यमा चिन्तनशील भई विगत तीन दशकभन्दा अघिदेखि रक्तदान अभियानमा लागिपरेका अभियन्ता स्व. महेन्द्रविलास जोशीको १३औं दिनको पुण्यतिथिमा काठमाडौंमा ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) ले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।

ब्लोदानका केन्द्रीय उपाध्यक्ष सहप्राध्यापक रजनी श्रेष्ठले कार्यक्रमको सभापतित्व गर्दै ब्लोदानका केन्द्रीय अध्यक्ष स्व. महेन्द्रविलास जोशीको असामयिक निधनले रक्तदानकै क्षेत्रमा अपुरणीय क्षति पुगेको चर्चा गर्नुहुँदै राष्ट्रिय रक्तदाता दिवस उहाँकै अगुवाइमा दुईपल्ट सम्पन्न भइसकेको र यस कार्यलाई निरन्तर जारी गरिहने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँले अन्तिम घडीसम्म पनि रगत नपाई छट्पटाइरहेका बिरामीहरूलाई कसरी सहजरूपमा रगत उपलब्ध गराउने भन्ने मात्रै चिन्ता व्यक्त गरिरहने स्व. जोशी सबैका लागि प्रेराणादायिक व्यक्तित्व भएको बताउनुभयो।
उक्त शोकसभा स्व. महेन्द्रविलास जोशीको तस्वीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पणका साथै एक मिनेट मौनधारणबाट शुरु गरिएको थियो भने ब्लोदान काठमाडौं जिल्ला समितिका सदस्य भिक्षु पियदस्सीद्वारा दिवंगत आत्माको चिर शान्तिका लागि शान्ति पाठ, ब्लोदान केन्द्रीय सदस्य राजुराम मुनंकर्मीद्वारा स्व. जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोरिएको कविता पाठ र पशुपति मारवाडी सेवा समितिको शोक सन्देश वाचन गरिएको थियो।

शोकसभालाई सञ्चालन गर्दै ब्लोदानका केन्द्रीय महासचिव ई. सानुबाबु प्रजापतीले ‘रक्तदान अभियानलाई आजको अवस्थासम्म ल्याउन जीवनपर्यन्त अहम् भूमिका निभाउनुभएका स्व. जोशीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो भने ब्लोदानका केन्द्रीय उपाध्यक्ष रमेशध्वज बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अग्रज रक्तदाता स्व. महेन्द्रविलास जोशी स्वयंसेवी रक्तदान क्षेत्रका कुशल उत्प्रेरक तथा संगठक रहेको चर्चा गर्नुभयो। सोही श्रद्धाञ्जली सभामा शोक मन्तव्य व्यक्त गर्दै विश्व स्वास्थ्य संघका डा. प्रकाश घिमिरेले स्व. जोशीको योगदानको चर्चा गर्नुहुँदै ‘बिरामीका लागि आवश्यक पर्ने स्वस्थ तथा सुरक्षित रगत उपलब्ध गराउन रक्तदान अभियानलाई सबै मिलेर अगाडि बढाउनु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने’ धारणा राख्नुभयो।

त्यस्तै ब्लोदानका संरक्षक एवं नेपालका वरिष्ठ कलाकार हरिवंश आचार्यले स्व. जोशीको सम्झना गर्दै ‘पीडाको क्षणमा अभिव्यक्त गर्न गाह्रो हुने बताउनुहुँदै महेन्द्रविलास जोशी स्वर्गीय नभई अमर व्यक्तित्व रहेको’ धारणा राख्नुभयो। शोक मन्तव्यकै क्रममा ब्लोदानका वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले युवादेखि सबै तह र तप्काका व्यक्तित्व र सरकारी स्तरसम्म पनि राम्रो सम्बन्ध राख्ने क्षमता भएका जोशीको कार्यशैलीलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो। त्यस्तै शोक मन्तव्य राख्नुहुँदै नेपाल सरकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक राजकुमार महतो र नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले कुशल नेतृत्वका धनी स्व. जोशी समाजसेवी, मृदुभाषी र हँसमुख स्वभावका व्यक्तित्व रहेको बताउनुभयो।

सोही सभामा परिवारजनको तर्फबाट स्व. महेन्द्रविलास जोशीका कान्छी सुपुत्री रिया जोशीले आफ्नो बुबाको सपना पूरा गर्न सदैव यस क्षेत्रमा लागिरहने प्रण गर्दै स्वस्थ रगत सुलभरूपमा पाउनुपर्ने अभियानलाई सफल पार्न सबैले एकढिक्का भई लागिपर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्