हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन



दीपेन्द्र शर्मा, जाजरकोट
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस जाजरकोटका युवा नेता रवीन्द्र शाहका हत्याराको तत्काल पहिचान गरी कारबाहीको माग गर्दै नेपाली कांग्रेस जाजरकोटले सदरमुकाममा प्रदर्शन गरेको छ।

शाहका हत्यारालाई तत्काल पहिचान गरी कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बजार परिक्रमा गरी जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेललाई २४ घण्टाभित्र घटनाको सत्यतथ्य सार्वजनिक गरी अपराधीलाई कारबाहीको दायरामा ल्याउन अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएका छन्। नेपाली कांग्रेसका कार्यवाहक सभापति सर्पराज रावतले उक्त ज्ञापनपत्र बुझाएका हुन्। दिनदाहाडै सदरमुकाममै नागरिकको हत्या हुँदा पनि प्रहरी प्रशासन मूकदर्शक बनेको भन्दै रावतले आपत्ति जनाएका छन्। घटना घटेको १८ घण्टा बितिसक्दा पनि अपराधीलाई सार्वजनिक गर्न नसक्नुले प्रहरीको सुरक्षा व्यवस्था एकदमै फितलो भएको रावतले आरोप लगाए।

बजार परिक्रममापछि खलंगाको ठाँटीमा भएको कोण सभामा नेपाली कांग्रेसका नेता सनत कार्की, सर्पराज रावत, नेविसंघका केन्द्रीय सदस्य खडग बुढालगायतले यथाशीघ्र हत्यारा पत्ता लगाई कारबाहीको माग गरेका छन्। त्यस्तै गैरसरकारी संस्था महासंघ जाजरकोटले पनि हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। घटनाको विरोधमा सदरमुकामका सबै पसल बन्द भएका छन् भने यातायात सेवासमेत बन्द गरिएको छ। आफन्त र जिल्लाबासीले हत्यामा संलग्नहरू तत्काल पत्ता लगाई आवश्यक कारबाहीको माग गरेका छन्।

तल्लो थाप्लेस्थित जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा इभिनिङ वाक गरेर फर्कने क्रममा ८⁄९ जनाको समूहमा रहेका अपरिचित समूहले नेता शाहको मंगलबार बेलुका ढुंगाले हानेर हत्या गरेको थियो। पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवं निर्माण व्यवसायी समेत रहेका शाहको हत्या कसले किन गर्यो अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए।

शाहसँगै इभिनिङ वाक गएका तीन जना र अन्य ६ जना गरी ९ जनालाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख रिमालले बताए। प्रहरी नियन्त्रणमा रुकुम चौरजहारी र खलंगाका युवाहरू रहेका छन्। त्यसमध्ये केही निर्माण व्यवसायी समेत रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्