फोहोर पुनः प्रयोगमा परीक्षण



रोशन पराजुली

शून्य फोहोरको अवस्था निर्माणका लागि हेटौंडा उपनगरपालिकाले गएको आइतबारदेखि नयाँ अभियान थालेको छ। जैविक तथा अजैविक फोहोरजन्य वस्तुहरुलाई स्रोतमा नै छुट्याउने र जैविक फोहोरबाट कम्पोस्ट मल, अजैविक वस्तुहरुको पुनः प्रयोग र रिसाइकलको माध्यमबाट शून्य फोहोरको अवस्था निर्माणका लागि नगरपालिकाले अभियान थालेको हो।

मानिसको खानेबानी र व्यस्तताका कारण घर–घरबाट संकलन हुँदै आएको फोहोरको परिमाणमा अजैविक फोहोरको परिमाण करिब ५० प्रतिशत पुगेपछि नगरपालिका नयाँ सोचमा पुगेको हो। हरियो, नीलो र रातो रङ अभियान अन्य नगरमा चर्चाको विषय बन्नुका साथै अनुकरण गरिएको बेला हेटौंडाले नेपालमा पहिलोपटक सफल परीक्षण गरेको हो। उक्त कार्य सफल बनाउन आ–आफ्नो घर तथा व्यवसायबाट निस्कने जैविक र आजैविक फोहोरजन्य वस्तु अलग–अलग वर्गीकरण गरी सहयोग गर्न नगरपालिकाले अपिलसमेत गरेको छ।

नगरपालिकाले हेटौंडा–१०, सिसौघारीमा रहेको सार्वजनिक क्षेत्रमा आधुनिक प्रविधिको हपर जडान गरेको छ। घरबाट छुट्टिएर संकलन हुँदै आएका अजैविक फोहोरलाई त्यहाँ पुनः प्रशोधन गरी औद्योगिक प्रतिष्ठानलाई कच्चापदार्थका रूपमा बिक्री गर्ने लक्ष्य लिइएको छ। त्यहाँ अजैविक फोहोर पुनः छुट्याउन कन्भर्टर जडान गरिएको छ। जैविक फोहोर बिक्री गरी नगरपालिकाले यस वर्ष करिब १८ लाख आम्दानी गरेको जनाइएको छ। यो तरिका अन्य नगरपालिकाहरुलाई पनि शिक्षाको विषय हुन सक्छ।

हेटौंडा उप–महानगरपालिकाका शहरी योजना, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख बीके महर्जनका अनुसार अजैविक फोहोरलाई सोलीमा हालेर ६ मिटर र १४ मिटर लामो दुई वटा भाइब्रेटरमार्फत् मानिसले छुट्याउने छन्। यसरी छुट्याइएको फोहोरलाई बिक्री गरिने उनले बताए।

नेपालमा पहिलोपटक परीक्षण गर्न लागिएको यो कार्य सफल बनाउन आ–आफ्नो घर तथा व्यवसायबाट निस्कने जैविक र अजैविक फोहोरजन्य वस्तु अलग–अलग वर्गीकरण गरी सहयोग गरिदिन उनले अपिल गरेका छन्।

नगरपालिकाले गरेको प्रस्तावअनुसार सरकारले यसका लागि ४५ लाख रुपियाँ सहयोग गरेको छ। ग्रिन एन्ड क्लिनसँगको सहकार्यमा समेत गरी ५९ लाख लागतमा यस्तो प्रविधि जडान गरिएको हो। त्यहाँ करिब २० जनाले रोजगारी पाएका छन्। माघ १५ देखि उक्त प्रविधि सञ्चालनमा ल्याउने लक्ष्य रहे पनि विभिन्न समस्याका कारण केही ढिलो हुन पुगेको महर्जनले बताए। कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकायका डीन डा. बलराम भट्टले यसलाई देशको महत्त्वपूर्ण प्रविधि भन्दै निरन्तरतामा जोड दिएका छन्।

हाल हेटौंडाको वडा नं. २ र ३ बाट मंगलबार र बिहीबार गरी सातामा करिब १० टन तथा वडा नं. ४ बाट साताको करिब १४ टन अजैविक फोहोर संकलन हुँदै आएको छ। महर्जनले हेटौंडालाई भावी दिनमा इकोटाउन मोडल प्रोजेक्ट सञ्चालनबारे विचार राखेका छन्।

सबै वडाबाट संकलन भएका फोहोर हेटौंडा–१०, राप्तीतटस्थित फोहोर संकलन केन्द्रमा संकलन गरिन्छ। त्यहाँ कुहिने र नकुहिने फोहोरलाई छुट्याइन्छ। कुहिने फोहोरलाई केन्द्रनजिक स्थापना गरिएको कम्पोस्ट प्लान्टमा राखेर मल बनाउने गरिन्छ। त्यहाँबाट उत्पादन भएका कम्पोस्ट मल बिक्री हुन थालेको छ। यदि पुनः प्रयोगमा आउन नसक्ने फोहोर भए त्यसलाई डम्पिङ साइटमा गाडेर नष्ट गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्