शाहको हत्याको विरोधमा नेविसङ्घको देशभर प्रदर्शन



 

काठमाडौँ, १६ चैत । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्याको विरुद्धमा आज सङ्घले देशभर विरोध प्रदर्शन गरेको छ ।

हत्यारालाई कारबाहीको माग गर्दै सङ्घले देशभर प्रदर्शन गरेको सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराउनुभयो । काठमाडौँमा पनि हत्याको विरोधमा प्रदर्शन गरिएको छ ।

त्रिचन्द्र क्याम्पसबाट निकालिएको विरोध जुलुस प्रदर्शनी रत्नपार्क, भृकुटीमण्डप हुँदै पुतलीसडकमा भएर कोणसभामा परिणत भएको थियो ।

सभामा सङ्घका अध्यक्ष महरले निर्वाचनको वातावरण बिथोल्न शाहको कायरतापूर्ण तरिकाले हत्या गरेको बताउनुभयो । उहाँले अहिलेको समकालीन राजनीतिक धमिल्याउने प्रयासमा हत्या गरिएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गर्नुभयो । शाह सङ्घको महाधिवेशनमा सहमहामन्त्रीको प्रत्याशी रहनुभएको थियो ।

यसैगरी उहाँको हत्याको विरोधमा सङ्घले बिहीबार विहान ९ देखि १० बजेसम्म देशभरिका क्याम्पसअगाडि चक्काजाम गर्ने र शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने अध्यक्ष महरले जानकारी गराउनुभयो ।

शाहको मङ्गलबार राति जाजरकोट सदरमुकामनजिक चार–पाँचजनाको समूहले हत्या गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्