पत्रकार श्रेष्ठलाई ५१ हजार सहयोग



नेपाल समाचारपत्र, बिर्तामोड ।

अग्रज पत्रकार अमृतलाल श्रेष्ठको उपचारका लागि नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा ५१ हजार ९ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

महासंघको ६२औं स्थापना दिवसको अवसरमा बुधबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, महासंघका उपाध्यक्ष तथा पत्रकार–सहारा उपचार कोषका संयोजक एकराज गिरीले उक्त रकम श्रेष्ठलाई हस्तान्तरण गरे ।

महासंघका उपाध्यक्ष तथा कोषका संयोजक गिरीका अनुसार झापाका सञ्चारकर्मी, विभिन्न सामाजिक संघ–संस्था तथा व्यक्तिले श्रेष्ठको उपचारका लागि रुपमा सहयोग प्रदान गरेका थिए । सहयोग जुट्नेक्रम जारी रहेको छ । मेचीनगर घर भएका पत्रकार श्रेष्ठ केही समयअघि मात्र राष्ट्रिय समाचार समितिबाट अवकास भएका हुन् ।

दुबै मृगौला खराब भएका कारण सातामा दुईपटकसम्म डाइलोसिस गराउनुपर्ने र उपचारमा ठूलो आर्थिक भार परिरहेको श्रेष्ठ परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्