किसानलाई सिमसहितको उपकरण वितरण



बनेपा, १६ चैत । काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण आज वितरण गरिएको छ ।

धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव रु २५ हजार बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ जनालाई वितरण गरिएको हो ।

पाँचखाल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, बालुवापाटी, छत्रेबाझलगायत स्थानका कृषकलाई ती सामग्री कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले वितरण गर्नुभयो । सो अवसरमा मन्त्री चौधरीले कृषकलाई सुविधा उपलब्ध गराउन कृषि सेवा केन्द्रलाई प्रभावकारी बनाउन जोड दिनुभयो ।

उहाँले स्थानीय तहका आधारमा कृषि सेवालाई रुपान्तरण गरिने बताउनुभयो । पहुँचका आधारमा कृषकले विभेद खेप्न नहुने उल्लेख गर्दै मन्त्री चौधरीले एक गाउँ एक प्राविधिक किसानसँग हातेमालो गर्ने कार्यक्रम भएको बताउनुभयो ।

कृषि विकास मन्त्रालयका सचिव सुरोज पाखरेलले कृषि ऋणका लागि कार्यविधि नबनेकाले समस्या देखिएको औँल्याउँदै कृषि उपकरणबाट लाभ लिन कृषकलाई आग्रह गर्नुभयो । सिमबाट किसानले जलवायु परिवर्तनको अवस्थाबारे जानकारी लिने छन् । रासस

प्रतिक्रिया दिनुहोस्