निःशुल्क स्वास्थ्य परीक्षण



जुम्ला, १६ चैत । दुर्गमका बिरामीलाई लक्ष्य गरेर सञ्चालन भएको स्वास्थ्य शिविरमा पाँच सय ९० बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

पेस नेपालको स्थानीय आयोजना, जिल्ला स्वास्थ्य कार्यालयको सहआयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य जाँच गरिएको हो । यही चैत १२–१५ गतेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालित शिविरमा आगोले पोलेका, पैतला फर्किएका र अन्य विभिन्न समस्या भएका ७४ बिरामीको प्लास्टिक सर्जरी गरिएको सुष्मा कोइराला अस्पतालका डेपुटी डाइरेक्टर सन्तोषविक्रम भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन सय ८८ जनाको सामान्य उपचार गरिएको छ । शिविरमा एक सय २८ जटिल बिरामीको सिफारिस गरिएको छ ।

डा भण्डारीले कर्णालीमा छालाको सौन्दर्यसम्बन्धी समस्याका बिरामी धेरै भएको हुँदा प्रतिष्ठानले प्लास्टिक सर्जरी विभाग सुरु गर्न आवश्यक रहेको औँल्याउनुभयो । आयोजक पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले सिफारिस गरिएका सबै बिरामीको काठमाडौँमा निःशुल्क उपचार हुने जानकारी दिनुभयो ।

शिविरमा डा भण्डारीसहित जर्मनीका डा जुर्गेन हसमान र रुडिडर लोहमानले शिविरको अगुवाइ गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शिविर सञ्चालनबाट जुम्ली जनतालाई लाभ पुगेको बताउँवदै कर्णालीका जिल्लामा पछि पनि शिविर सञ्चालन गर्न आयोजकलाई अनुरोध गर्नुभयो । निमित्त जिल्ला स्वास्थ्य प्रमुख पृथ्वीनाथ योगीले शिविरमा स्वास्थ्य कार्यालयले आवश्यकतानुसार सहयोग गरेको बताउनुभयो । प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डा पुजन रोकायाले छोटो अवधिमा सञ्चालित शिविरबाट धेरै बिरामीले निःशुल्क सेवा लिन पाएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्