प्रहरी हवल्दार नै पैसा लुटेको आरोपमा पक्राउ



महेन्द्रनगर (धनुषा), १६ चैत्र । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ ।

जनकपुरको श्यामचोक नजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एकजना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो ।

देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको रु दुई लाख लुटेका थिए ।

लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरेपछि प्रहरीले मालपोत कार्यालयको पछाडि रहेको हवल्दार पासवानको डेराबाट खानतलासी गरी सो रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

हवल्दार पासवानलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी अनुसन्धान गरिरहेको बताइएको छ ।

फरार अभियुक्त पक्राउ

यसैबीच, हत्याको आरोपमा फरार अभियुक्त धनुषाको मिथिला नगरपालिका वडा नं. ४ बस्ने कुमार सार्की भन्ने मोहनबहादुर नेपालीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

मिथिला नगरपालिका वडा नं. ७ जमुनिवास बस्ने बुद्धबहादुर मगरको हत्या गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको हो । गत पुस २५ गते भएको झडपको क्रममा गम्भीर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएपछि नेपाली फरार रहेका थिए ।

प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिगएको टोलीले फरार रहेका नेपालीलाई आइतबार राति पक्राउ गर्न सफल भएको बताइएको छ ।

पक्राउ गरिएका नेपालीलाई कर्तव्य ज्यानअन्तर्गतको मुद्दा चलाइएको जानकारी दिँदै निरीक्षक काफ्लेले घटनाको थप अनुसन्धान जारी रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्