अज्ञात समूहद्वारा विद्यालयमा आगजनी



बैतडी, १६ चैत । बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ ।

सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

आगजनीबाट विद्यालयको कार्यालयका सबै कागजात पनि जलेर नष्ट भएका छन् । आगजनी गरेको ठाउँमा गुड भिजन पार्टी, भारत नामको पर्चा छरिएको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

गुड भिजन पार्टी, भारत नामको पर्चामा विद्यालयका प्रधानाध्यापक पद्मबहादुर बिष्टले विद्यालयमा अनियमितता गरेको, अरू शिक्षकलाई अन्य कार्यमा लगाएको, विद्यालयको पढाईमा ध्यान नदिएकोलगायतका आरोप लगाएको प्रहरीले बताएको छ ।

घटनाका बिषयमा अनुसन्धान सुरु भएको र उक्त घटनामा संलग्नको खोजी कार्य सुरु भएकोसमेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालय भवनमा आगजनी हुँदा विद्यार्थीलाई भने पठनपाठनको समस्या भएको छ ।

यसबारे बुझ्न पुरघाट प्रहरी चौकीबाट घटनास्थलतर्फ प्रहरी गएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्