फिलिपिन्ससँग नेपाल हार्यो



काठमाडौं, (नेस)
नेपालले फिलिपिन्सविरुद्धको खेलमा विगतमा झैं यसपटक पनि जित आत्मसात गर्न सकेन। एएफसी एसियन कप फुटबलअन्तर्गत छनोट चरणको अवे खेलमा नेपाल फिलिपिन्ससँग ४–१ गोलअन्तरले हारेको हो। फिफा वरियतामा नेपालभन्दा अगाडि रहेको फिलिपिन्सले ८ मिनेटमा तीन गोल गर्नु नै नेपाली टोलीको हार पक्का भएको थियो। जब कि खेलअघि प्रशिक्षक ग्योटुकी कोजीले तीन अंक लिने लक्ष्य लिएका थिए।

आगामी सन् २०१९ मा यूएईमा हुने एएफसी एसियन कपमा छनोट हुनका लागि यस छनोट चरण भइरहेको हो। समूह एफ मा रहेको नेपालले आगामी खेल यमनसँग जुन १३ मा घरेलु मैदानमा खेल्नेछ। त्यस्तै फिलिपिन्ससँग नोभेम्बरमा घरेलु मैदानमा खेल्नेछ। चार टोली रहेको नेपालको समूहमा चौथो राष्ट्र ताजिकिस्तान हो।

मनिलास्थित रिजाल मेमोरियल रंगशालामा मंगलबार भएको खेलमा नेपालले १२औं मिनेटपछि १० खेलाडीबाट खेलेको थियो। फिलिपिन्सका खेलाडीको प्रहार गोल हुन लाग्दा विक्रम लामाले हातले छेकेका थिए। विक्रमलाई रातो कार्ड र घरेलु टोलीलाई पेनाल्टी प्रहार गर्न रेफ्रीले निर्देशन दिएका थिए। जसमा फिल हज्बेन्डको प्रहारलाई किरण चेम्जोङले जोगाएर नेपालको खतरा टाले। तर नेपालले त्यसपछि २१औं मिनेटमा पेनाल्टी प्रहारमै पहिलो गोल आत्मसात गरेको थियो। यसपटक रविन श्रेष्ठले विपक्षीका खेलाडीलाई डिबक्समा लडाएका थिए। पहिलो पेनाल्टीमा चुकेका फिलले यो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए।
नेपाली खेलाडी सम्हल्न नपाउँदै दुई मिनेटमा अर्को गोल थपियो। फिलले नै गोल गरेर नेपाललाई २–० ले पछि पारे। इयान राम्सेले २८औं मिनोटमा फिलिपिन्सका लागि तेस्रो गोल गरेर नेपाललाई आधा घण्टाको खेलमै ३–० ले पछाडि पारेका थिए। त्यसो त पहिलो हाफ सकिन लाग्दा विशाल राईले एक गोल गरेर गोलअन्तर खुम्च्याए। राई अञ्जन विष्टको स्थानमा खेल्न आएका थिए। दोस्रो हाफमा भने नेपालले एक गोल मात्रै बेहोर्यो। जुन गोल पटिनोले ७३औं मिनेटमा गरेका थिए।

यस खेलमा नेपालको नेतृत्व भरत खवासले गरेका थिए। कोजीको नेपाली टोली नियमित कप्तान अनिल गुरुङलाई ड्रप गरेर फिलिपिन्स पुगेको थियो। तर खेल्न अगाडि नै हाल नेपालका सफल कप्तान विराज महर्जन शुरुआती ११ खेलाडीमा परेनन्। विराज अन्तिम तिर रविन श्रेष्ठको स्थानमा खेल्न आएका थिए। त्यतिन्जेल नेपाल ४–१ ले हार्ने तय भइसकेको थियो।

नेपाली टोलीः किरण चेम्जोङ, रविन श्रेष्ठ (विराज महर्जन ९०), कमल श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, बिक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्ट, (विशाल राई २८), विमल घर्तीमगर (हेमन गुरुङ ६९) र भरत खवास।

प्रतिक्रिया दिनुहोस्