नेपालको इमर्जिङ कपमा चुनौती समाप्त



नेपाल समाचारपत्र
काठमाडौं
गलादेसको यु २३ टोलीसँग पराजय बेहोरेसगैं नेपाल जारी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगितामा समूह चरणबाट बाहिरिएको छ।

मंगलबार बंगलादेसको कक्सबजारस्थित शेख कमाल रंगशालामा आयोजकसँग शुरूआत राम्रो गरे पनि नेपाल अन्ततः ८३ रनले पराजित भयो। लगातार दुई हारपछि नेपालको प्रतियोगितामा समूह चरणबाटै बाहिरिने तय हुन पुग्यो। नेपालले समूह बीमा अन्तिम खेलमा हङकङविरुद्ध बिहीबार खेल्नेछ। हङकङ पनि दुई हारसँगै समूह चरणबाटै बाहिरिसकेको छ। यस समूहबाट दुई–दुई खेल जितेका टोली पाकिस्तान र बंगलादेश अर्को चरणमा पुगिसकेका छन्।

त्यसो त पहिलो खेलमा पाकिस्तानविरुद्धको खेलमा भन्दा नेपालले हिजो राम्रो शुरूआत गरेको थियो। बंगलादेशसका चार विकेट ३४ रनमा पवेलियन फर्काएर नेपालले खेलमा दखल दिने लक्षण देखाएको थियो। तर दर्जनौं टेस्ट खेलेको अनुभव बटुलेका मोमिन उल हक र नासेर हुसेनले नेपाली बलरलाई निरास पारेर खेल आफ्नो पकडमा राखेका थिए।हकले ६१ रन र हुसेनले १ सय ९ रन जोडेपछि बंगलादेसले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन जोडेको थियो।

नेपाली बलरमा अविनास कर्णले शुरूआतमै तीन विकेट लिएर नेपाललाई सानदार शुरूआत दिलाएका थिए। पछि उनले विकेट लिन सकेनन्। त्यस्तै बंगलादेशको मध्यक्रम तोडेका सन्दीप लामिछानेले दुई विकेट हात पारे। यसैगरी मेहबुब आलम, कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए।
ब्याटिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र विकेटकिपर ब्याटसम्यान दिलीप नाथले राम्रो ब्याटिङ गरे। तर उनीहरू आउट भएपछि नेपालले ४३.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन मात्रै बनाउन सकेको थियो। ओपनर ज्ञानेन्द्र मल्ल र सुनील धमला १⁄१ रनमा र आसिफ शेख १२ रन बनाएर पवेलियन फर्केपछि नेपालको स्कोरकार्डमा १६ रन अंकित थियो। यसपछि ऐरी र दिलीपले चौथो विकेटका लागि ९८ रन जोडेर नेपाललाई जितको आशा बनाए। यो नै ब्याटिङमा नेपालका लागि ठूलो साझेदारी थियो।

तर राहतल फिरदोसले बलिङ जिम्मा सम्हालेपछि नेपालले चार विकेट छिटै गुमायो। दिलीप ४१ रन, सरद भेषवाकर २ रन, ऐरी ५६ रन र मेहबुब आलम १० रन बनाएर फिरदोसको बलिङमा आउट भएका थिए। फिरदोसले ११४⁄३ बाट १३६⁄७ को दयनीय स्कोरमा पुर्याएपछि नेपालको जित्ने संभावना समाप्त भएको थियो। यद्दपि विनोद भण्डारीले फटाफट ३३ रन बनाए पनि त्यो जितको लागि पर्याप्त भएन।

प्रतिक्रिया दिनुहोस्