मण्डेलाका सहयात्री कथ्राडाको अवसान



जोहनेसबर्ग, (एजेन्सी)
दक्षिण अफ्रिकामा स्वेत एकाधिकार शासनका विरुद्ध अश्वेत संघर्षका अगुवा अहमद काथ्राडाको ८७ वर्षको उमेरमा मंगलबार निधन भएको छ।

उनी दक्षिण अफ्रिकाका सर्वमान्य नेता नेल्सन मण्डेलाका सबैभन्दा नजिकका सहयात्री थिए। काथ्राडा मण्डेलासँग सन् १९६४ मा आन्दोलनका क्रममा सँगसँगै जेल परेका थिए। उनीहरूको नेतृत्वमा भएको उक्त आन्दोलनले संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो।

उनले २६ वर्ष तीन महिना कारागारका बिताएका थिए। मस्तिष्कको शल्यक्रिया भएको केही दिनमै जोहानसबर्गस्थित अस्पतालमा उनको मृत्यु भएको हो।

रंगभेद विरुद्धको आन्दोलन सकिएपछि उनी सन् १९९४ देखि सन् १९९९ सम्म संसद् सदस्य रहेका थिए।

उनको निधनमा अफ्रिका गहिरो शोकमा डुबेको छ। अहमद काथ्राडा फाउन्डेसनका प्रमुख निशान बाल्टोनले जारी गरेको शोक वक्तव्यमा उनको निधनले मुलुकलाई ठूलो क्षति पुगेको उल्लेख गरेको छ। ‘उनले संसारभरि लाखौं व्यक्तिलाई प्रेरित गरेका थिए’ वक्तव्यमा उल्लेख गरिएको छ।

श्वेत सत्ताविरुद्ध अश्वेतको संघर्षमा उनी १७ वर्षको उमेरदेखि नै सक्रिय भएका थिए। उनी भद्र, निःस्वार्थी, त्यागी, सहयोगी र उदार व्यक्तिका रुपमा चिनिन्थे। उनले जलेमा रहेकै बेला अध्ययन गरेर चारवटा विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्