हुलाकी राजमार्गमा भारतीय कम्पनीले काम छोडे



हेमन्त जोशी, काठमाडौं
हुलाकी राजमार्ग निर्माण तथा स्तरोन्नतीको जिम्मा पाएका भारतीय कम्पनीले काम नगरी फर्केपछि हुलाकी राजमार्ग निर्देशनालयले नेपालका निर्माण कम्पनीलाई धमाधम निर्माणको जिम्मा दिइरहेको छ। पहिलो चरणको निमाण कार्यका लागि भारतबाट आएका ६ वटा कम्पनीमध्ये ५ वटा काम नगरी फर्किएको निर्देशनालयले जनाएको छ।

आयोजना निर्माणका लागि भारतले ८ अर्ब नेपाली रुपियाँबराबरको आर्थिक तथा प्राविधिक सहयोग अनुदान दिने भनेको थियो। तर, किन भारतीय कम्पनीहरू काम नगरी फर्किए भन्ने विषयमा कुनै जानकारी नभएको सडक विभागले जनाएको छ। त्यस्तै पहिलो चरणमा भारतीय कम्पनीले ६ सय किलोमिटर निर्माण सम्पन्न गर्ने भनिएको हुलाकी राजमार्गको ६७ किलोमिटर मात्र पूरा भएको छ। पहिलो चरणको प्याकेजअन्तर्गत हालसम्म लम्की, टीकापुर, खक्रौला र सती भजनी सडकको मात्र निर्माण कार्य पूरा भएको हुलाकी राजमार्ग निर्देशनालयका सिनियर डिभिजनल इन्जिनियर अर्जुन सुवालले जानकारी दिनुभयो।

सुवालका अनुसार ६ वटा प्याकेजको ठेक्का भएकोमा प्याकेज १ बाहेक अरु ५ वटा ठेक्का हाल रद्द भइसकेको उहाँले बताउनुभयो। सरकारले सन ्२००२ मा २० वर्षे दीर्घकालीन गुरुयोजनामा नेपालको पूर्वबाट पश्चिमसम्मको सीमा छिचोल्ने गरी पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गको काम अघि बढाएको थियो । सन् २००४ मा तराईको विभिन्न लिंक रोड स्तरोन्नतिका लागि प्रारम्भिक सर्वेक्षण र सन् २००६ मा भारतले तराईमा सडक निर्माण गर्न विस्तृत अध्ययन र रेखांकनका लागि नेपाल र भारत सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा भारतले नेपाल सरकारबाट छनोट भएका १ हजार ४ सय ४० किलोमिटर सडकको डिजाइन, सुपरीवेक्षण र निर्माण गरी तीन चरणमा सम्पन्न गर्ने र सोवापत लाग्ने सम्पूर्ण रकम भारतले व्यहोर्ने भन्ने प्रावधान थियो। तर, जग्गा अधिग्रहण, उपयोगिता स्थानान्तरण, सडकमा पर्ने १ सय ४९ वटा पुल निर्माण र रुख नेपाल आफैंले हटाउनुपर्ने प्रावधानमा उल्लेख छ।

सन् २०१० मा पहिलो चरणमा ६ वटा प्याकेजअन्तर्गत २ वटा हुलाकी सडक खण्ड र १७ वटा सहायक गरी १९ वटा सडकको निर्माण गर्न नेपाल–भारतबीच विस्तृत सम्झौता भएको थियो। पहिलो चरणका कम्पनी काम नगरी फर्केपछि पुनः टेन्डरमार्फत हाल ४ वटा भारतिय र १२ वटा नेपाली कम्पनीले निर्माणको काम गरिरहेका छन्। पहिलो चरणमा भारतको अनुदान सहयोगमा स्तरोन्नती गर्र्ने भनिएका १० वटा सडकखण्डमध्ये ३ वटा काम शुरु भइसकेको अवस्थामा र बाँकी सडकखण्ड ठेक्का आह्वान, सम्झौता, डीपीआर निर्माणकै चरणमा रहेका छन्।

हालसम्ममा हुलाकी राजमार्गको ३८ प्रतिशत मात्र काम सम्पन्न भएको अवस्थामा छ। चालू आर्थिक वर्षमा मात्रै हुलाकी राजमार्ग निर्माण तथा स्तरोन्नतीका लागि ४ अर्ब रुपियाँ छुट्याएकोमा दोस्रो चौमासिकसम्ममा ३४ प्रतिशतमात्रै खर्च भएको सडक विभागका उपमहानिर्देशक एवम् प्रवक्ता दयाकान्त झाले बताउनुभयो। महेन्द्र राजमार्गको समानान्तर हुने गरी भारतीय सिमा क्षेत्रको नजिकबाट निर्माण गर्ने भनिएको राजमार्गले तराईका सबै जिल्लालाई छुन्छ। उक्त राजमार्गमा पर्ने १ सय ४९ वटा पुलको निर्माण नेपालले नै निर्माण गर्ने भन्ने सम्झौता अनुरुप हालसम्म ५३ वटा निर्माण भइसकेको, ५८ वटा निर्माणाधीन अवस्थामा रहेको र बाँकी पुलहरूलाई अबको अर्को आर्थिक वर्षभित्रमा टेन्डर आह्वान र स्वीकृत गर्ने लक्ष्य हुलाकी राजमार्ग निर्देशनालयले लिएको छ।

प्रतिक्रिया दिनुहोस्