नेपालको अर्थतन्त्र आशालाग्दोः एडीबी



नेपाल समाचारपत्र
काठमाडौं
सियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलब २ देखि ६ दशमलब २ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ। एडीबीका अनुसार यसवर्ष नेपालको मुद्रास्फिति भने ६ देखि ६ दशमलब ५ प्रतिशतको बीचमा रहने छ।

यसअघि एडीबीले नेपालको आर्थिक वृद्धिदर साढे ५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। नेपालको विकासमा सहयोग पुर्याउँदै आएको एडीबीले प्रक्षेपण गरेको गरेको आर्थिक वृद्धिदर सरकारको लक्ष्यनजिक हो भने मुद्रास्फिति दर भने सरकारको अनुमानभन्दा कम हो। सरकारले चालू आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर र साढे ७ प्रतिशतको मुद्रास्फिती दर कायम गर्ने लक्ष्य रोखेको थियो।

एडीबीले मंगलबार सार्वजनिक गरेको नेपालको बृहत् आर्थिक परिदृश्यमा यसअनुसारको वृद्धि हुने अनुमान गरिएको हो। यो लक्ष्य हासिल गर्न राजनीतिक स्थायित्व, स्थानीय तहको चुनाव र औद्योगिक वातावरणमा सुनिश्चितता हुनुपर्ने एडीबीको भनाइ छ। विप्रेषणमा कमी आए पनि कृषि उत्पादनमा भएको वृद्धि, र पुनर्निर्माण कार्यको गतिका कारण नेपालमा लगानीको राम्रो वातावरण रहेको एडीबीको भनाइ छ। बैंकको अनुसार यसैकारण अनुमान गरिएको भन्दा आशालाग्दो वातावरण देखिएकाले नेपाल आर्थिक समृद्धितर्फ लम्किएको हो।

निर्यातभन्दा आयात बढी भएको कारण चालू खाता घाटाको भएको चित्रण गर्दै एडीबीका प्रमुख आर्थिक विश्लेषक शरद भण्डारीले चालू आवको पहिलो ६ महिनामा भुक्तानी सन्तुलन बचत घटेको बताउनुभयो। थप सफलताको लागि नेपालले वैदेशिक लगानी प्रवद्र्धन गर्नुपर्नेमा एडीबीले जोड दिएको छ। चालू आवमा नेपालले हालसम्म कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशतमात्र वैदेशिक लगानी भित्र्याएको छ। तसर्थ, उच्च आर्थिक वृद्धि हासिल गर्न वैदेशिक लगानीले सहयोग नगर्ने बैंकको भनाइ छ। वैदेशिक लगानी भित्र्याउन सरकारले भिसा दिन र आम्दानी फिर्ता लैजाने प्रक्रिया सुधार हुनुपर्ने सुझाव दिएको छ।

यसैबीच एडीबीको नेपालका लागि देशीय निर्देशक केनिचि योकोयामाले नेपालको पाँचवर्षे कार्यकाल पूरा गरेका छन्। भारतका लागि बैंकका देशीय निर्देशकमा सरुवा भएका उनी मंगलबार नै भारत प्रस्थान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्