चमेलियाले मंसिरबाट विद्युत् उत्पादन गर्ने



नेपाल समाचारपत्र
काठमाडौं
दार्चुलामा निर्माणाधीन ३० मेगावाट जडित क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङको भेरियसन गर्ने काम सकिएको छ। भेरियसनको काम सकिएसँगै आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ। सिभिलतर्फको काम आगामी असोजसम्ममा र इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलका काम मंसिरसम्ममा सम्पन्न गरी मंसिरमा प्रसारणलाइनमा जोडिने चमेलिया जलविद्युत् आयोजनाका प्रमुख अजय दाहालले बताउनुभयो।

हाल भेरियसनको काम सकिएपछि प्रसारणलाइन वरपरका रुख काट्नका लागि टेन्डर आह्वान गरिएको उहाँले बताउनुभयो। पहिलो चरणमा परीक्षण प्रसारणका लागि प्रसारणलाइन वरपर बढेका रुख काट्न लागिएको हो। नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयले आयोजनाको काम समयमै सक्न निर्देशन दिएको र त्यही अनुरुप काम पनि भइरहेको आयोजना प्रमुख दाहालले बताउनुभयो।

चमेलिया जलविद्युत् आयोजनामा आर्थिक विकास साझेदारी कोष (इडीसीएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ। २०६३ पुसमा चाइना गेजुवा वाटर एन्ड पावर कम्पनी लिमिटेड (सीजीजीसी) लाई यस आयोजनाको सिभिलतर्फको २ अर्ब ८८ करोड रुपियाँमा निर्माण ठेक्का दिइएको थियो। तर, भेरियसन (थप काम) को लागि समेत भनेर पटकपटक गरी ६ अर्ब रुपियाँ ठेकेदार कम्पनीले भुक्तानी लिइसकेको छ। यसरी आयोजना निर्माणको लागत बढ्दा प्रतिमेगावाट लागत पनि ६० करोड रुपियाँ पुगेको छ। आयोजना प्रमुख अजय दाहालले भने चमेलिया जलविद्युत् आयोजना भौगोलिक रुपमा टाढा रहेको र बझाङ, बैतडी र दार्चुला जिल्लामा ट्रान्मिसन लाइन विस्तार पनि आयोजनाअन्तर्गत रहेकाले लागत बढेको बताउनुभयो।
दाहालका अनुसार निर्माणकार्य लक्ष्य अनुरुप समयमा नै सम्पन्न भएमा आगामी मंसिरसम्ममा आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ। ३ वर्ष अघि ९० प्रतिशत काम सम्पन्न भएको अवस्थामा रहेको आयोजना पछिल्लो ३ वर्षको अवधिमा ८ प्रतिशतमात्र कार्य प्रगति भएको छ। आयोजनाको सामान खरिद प्रक्रियामा अनियमितता भएर आयोजनाको लागत बढेको भन्दै संसद्को लेखासमितिले विद्युत प्राधिकरणलाई ठेकेदार कम्पनीको भुक्तानी रोक्न निर्देशन दिएपछि कम्पनीले अघिल्लो वर्ष सिभिलतर्फको सबै काम बन्द गरेको थियो। गत असोज ६ गते ठेकेदार कम्पनी, ऊर्जा मन्त्रालय र प्राधिकरणको संयुक्त बैठकमा तत्काल काम काम थाल्न ऊर्जा मन्त्रालयले कम्पनीलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले असोज १२ बाट निर्माण बाँकी रहेको २३२ मिटर सुरुङको काम पुनः थालेको थियो।

प्रतिक्रिया दिनुहोस्