तेस्रो मुलुकबाट इन्धन आयात गर्न बाटो खुल्यो



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) सँग आगामी पाँच वर्षका लागि इन्धन सम्झौता नवीकरण गरेको छ। सम्झौता नवीकरणपछि सन् २०२२ सम्मका लागि भारतले नै नेपालका लागि इन्धन उपलब्ध गराउने छ। तर, नेपालको आवश्यकता अनुरुप एनओसीले इन्धन उपलब्ध गराउन नसकेको खण्डमा तेस्रो मुलुकबाट आयातका लागि भने बाटो खुलेको छ।

नेपालले आफ्नै रिफाइनरी प्लान्ट बनाउने हो भने तेस्रो मुलुकबाट कच्चा इन्धन आयात गर्न सक्नेछ। त्यस्तै तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरेर भारतमा प्रशोधन गरी आयात गर्ने सम्बन्धमा पनि सहमति भएको छ। आगामी अप्रिल १ तारिखबाट युरो ४ मापदण्डको इन्धन आयात हुने भएको छ। भारतीय आयल कर्पोरेसनले अप्रिल १ तारिखदेखि उक्त मापदण्डको इन्धन प्रयोगमा ल्याउने भएपछि नेपालमा पनि सोही मापदण्डको इन्धन आयात हुने भएको हो।

भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र नेपालबाट आपूर्तिमन्त्री दीपक बोहोराको उपस्थितिमा आईओसीको कार्यकारी निर्देशक पिके दास र आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। इतिहासकै महत्त्वपूर्ण सम्झौता नेपालीको पक्षमा भएको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले बताउनुभयो। मुम्बईमा रहेका उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘सम्झौतामा तेस्रो देशबाट कच्चा तेल ल्याएर भारतमा प्रशोधन गर्न दिने, नेपालले मागेजति इन्धन उपलब्ध गराउने, माग अनुरुप दिन नसके तेस्रो देशबाट इन्धन खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।’ त्यस्तै आईओसीले नाफा दुई प्रतिशतमात्रै राखेर कारोबार गर्ने, भुक्तानी दिन तीन दिनसम्म ढिला भएमा ब्याज नलिने सम्झौतामा समेटिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

‘मागअनुसारको इन्धन दिने विषयमा आईओसी सहमत भए पनि, क्षतिपूर्ति नै उपलब्ध गराउन सहमत भएन,’ श्रेष्ठले बताउनुभयो। मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार मोतिहारी–अमलेखगन्ज रुटमा पेट्रोलियम पाइपलाइनसँगै ग्यास पाइपलाइनसमेत बन्ने भएको छ। पाइपलाइनको डीपीआर निर्माण तथा प्रविधिमा भारतले सहयोग गर्नेछ।

प्रतिक्रिया दिनुहोस्