लिलामीको शेयरमा लगानीकर्ताको आकर्षण



नरेन्द्रमान श्रेष्ठ

पछिल्लो समयमा लिलामीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। कृषि विकास बैंकको १९ लाखभन्दा बढीको लिलामीको शेयरमा ९ हजार २ सयभन्दा बढीको आवेदन परेको थियो। त्यसो त कृषि विकास बैंकको लिलामीको शेयर आवेदन दिन लगभग आईपीओको जस्तै भएको थियो। हकप्रदमा बिक्री नभएका शेयरहरु लिलामीमा बिक्री गर्ने गरिरहेका छन् कम्पनीहरुले। यस्ता लिलामीका शेयरहरु खरिद गर्नेको लागि लगानीकर्ताको भीड नै लाग्ने गरेको छ।

लिलामीको शेयरमा लगानीकर्ताको आकर्षण रहे तापनि कतिपय लगानीकर्ताहले लिलामीको शेयरमा बजार मूल्यभन्दा बढी तिरेर खरिद गर्ने पनि गरिरहेका छन्। त्यसो त लगानीकर्ताले जानेर वा नजानेर बजार मूल्यभन्दा बढी तिरेर लिलामीका शेयरहरु खरिद गर्ने गरेको पनि देखिन्छ। कृषि विकास बैंकको लिलामको शेयर खरिद गर्नको लागि न्यूनतम १ सयदेखि ६०१ रुपियाँसम्म हालेको बताइन्छ। बजारमा ४३० रुपियाँको हाराहारीमा पाउने शेयरको ६०१ रुपियाँसम्म तिरेको पाइयो। लिलामीको शेयरमा बजार मूल्यभन्दा बढी तिर्ने थप्रै लगानीकर्ता छन्। ४३० मा पाइने शेयर ६०१ रुपियाँसम्म तिर्ने गरेकोमा कतै यसमा पनि चलखेल हुने गरेको त छैन भनेर पनि चर्चा नचलेको होइन।

लिलामीमा बिक्री गरिने शेयरहरु बजारको भन्दा बढी मूल्य तिरी जानेर वा नजानेर लिने लगानीकर्ता माइनसमा नजालान् भन्ने छैन। लिलामीको शेयर बजार मूल्यभन्दा बढी तिर्ने थुप्रै लगानीकर्ता छन्। एकातिर सर्वसाधारणतर्फको लिलामीको शेयर बजार मूल्यभन्दा बढी तिर्ने लगानीकर्ता पनि छन् भने अर्काेतर्फ संस्थापकतर्फको शेयरहरु लिलामीमा पनि बिक्री नभएको पनि देखियो। त्यसो त लिलामीको वस्तु, सामान, सेवा भनेको बजार मूल्यभन्दा सस्तोमा पाए किन्ने हो, बजार मूल्यमा नै किन्न परे किन लिलामीमा गएर दुःख पाउने र समय खेर फाल्ने ? बजारमा किनेको शेयर ४ दिनपछि बिक्री गर्न सकिन्छ भने लिलामीको शेयर बिक्री गर्नको लागि महिनौं कुर्नुपर्ने हुन्छ। खोई त लगानीकर्तामा चेतना ? अझ मर्जर र एक्विजिसन प्रक्रियामा रहेका कम्पनीहरुको लिलामीमा किनेको शेयर त कहिले बिक्री गर्न पाउने हो, थाहा हुँदैन।

लिलाम भन्नाले सामान्य अर्थमा कुनै पनि बस्तु, सामान, सेवाहरु बोलकबोलबाट बढी मोल तिरेर लिनेले पाउने भन्ने बुझिन्छ। सामान्यतया लिलाम गोप्य सिलबन्दीबाट र अर्काे भनेको लिलाम हुने स्थानमा नै बोली लगाई गरिने गरिन्छ। सामान्यतया लिलामीमा रहेको सामान, वस्तु, सेवा वा शेयर नै किन नहोस्, बजार मूल्यभन्दा कममा पाए लिने भनेर पनि भनिन्छ। तर पछिल्ल्लो समयमा लिलामीमा रहेका शेयरहरु पनि बजार मूल्यमा नै तिरेर लिने गरेको पाइयो। यसले लगानीकर्ता घाटामा नजालान् भन्न सकिने अवस्था छैन।
विगतमा हकप्रद शेयरको आवेदन दिँदा आफ्नो हकभन्दा बढी पनि आवेदन दिन पाइने र हकप्रदमा सबै बिक्री नभएको खण्डमा बढी आवेदन दिनेलाई नै दिने पनि गरिन्थ्यो। तर पछिल्लो समयमा भने हकप्रदमा बिक्री नभएका शेयरहरु लिलामीमा बिक्री गरिने गरिरहेका छन्। लिलामीमा बिक्री गरिँदा पनि बजार मूल्य र त्यो भन्दा बढी मूल्यले बिक्री हुने हुनाले कम्पनीलाई पनि फाइदा हुने गरेको छ।

विभिन्न कम्पनीहरुले आफ्नो पुँजी बढाउनको लागि हकप्रद शेयर जारी गर्ने गर्दछन्। कम्पनीले आफ्ना साबिकका शेयरधनीहरुलाई मात्र जारी गरिने शेयरलाई सामान्यतया हकप्रद शेयर भन्ने गरिन्छ। ती जारी हकप्रद शेयरहरु सबै बिक्री नभएमा पछिल्लो समयमा लिलामबाट बिक्री गरिने गरिरहेका छन्। यस्ता लिलामीका शेयरहरुप्रति सर्वसाधारणदेखि संस्थागत लगानीकर्तासमेतको आकर्षण रहेको पाइन्छ। कतिपय लगानीकर्ता लिलामीका शेयरहरु सस्तोमा पाइन्छ भनेर यसमा सहभागी हुन्छन् तर यस्ता लगानीकर्ता जिल्ल पर्छन्।

लिलामीको शेयरमा आवेदन दिँदा मूल्य कतिसम्म उपयुक्त हो भन्ने थाहा नहुँदा पनि बजार मूल्यभन्दा बढी हाल्ने गरेको देखिन्छ। बजार मूल्यभन्दा बढी तिरेर शेयर खरिद गर्नु कत्तिको बुद्धिमानी हो ? लिलामीमा रहेका शेयरहरुप्रति संस्थागत लगानीकर्ता नै बढी आकर्षित रहेको र यस्ता शेयर धेरैजसो संस्थागत लगानीकर्ताले नै पाउने गरेका छन्। बजार मूल्यभन्दा बढी तिरेर लिलामीका शेयरहरु खरिद गर्ने हुनाले पनि यसो भएको हुन सक्छ।

लिलामीमा रहेका शेयर बजार मूल्यभन्दा बढीमा बिक्री हुनाले हकप्रद शेयर जारी गर्ने कम्पनीहरु पनि बढीभन्दा बढीले हकप्रद शेयरमा आवेदन नदिऊन् भन्ने चाहन्छन् भनेर पनि चर्चा चल्ने गरेको छ। पछिल्लो समयमा लिलामीको आवेदन फारामको प्रतिफाराम सय रुपियाँ लिने गरेका छन्, जुन विगतमा निःशुल्क पाउने गरिन्थ्यो। फारामको बिक्रीबाट पनि लाखौं कमाउँछन्। लिलामीको शेयर बिक्री प्रक्रियामा पनि एकरुपता छैन। सबै कम्पनीको शेयर प्रक्रियामा एकरुपता ल्याउनुपर्ने देखिन्छ।

अबका दिनमा पनि थुप्रै लिलामीका शेयरहरु आउने देखिन्छ। शेयर खरिदकर्ताले सोच विचार गरेर मात्र लिलामीको शेयरमा लगानी गर्नुपर्ने देखिन्छ। पछिल्लो समयमा लिलामीका शेयर खरिद गर्ने अधिकांश लगानीकर्ता माइनसमा छन्। लिलामीको शेयर खरिदमा बजार मूल्य र त्यो भन्दा बढी तिर्नु कुनै बुद्धिमानी होइन। यस्तोमा सही विश्लेशण गरेर मात्र लिलामीमा आवेदन दिनु उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्