धूलो नियन्त्रण गर



मेलम्चीको पानी ल्याउन काठमाडौंका मुख्य र सहायक सडक गरी ९० ठाउँमा एकसाथ सडक भत्काउँदै पाइप बिछ्याउने कामलाई अहिले तीव्र पारिएको छ । विकासको काम भएकोले कसैले पनि यसमा आपत्ति जनाउने कुरा हुँदैन । त्यही भएर नै सर्वसाधारण जनताले सहेर बसेको कुरालाई कसैले पनि भुल्न हुँदैन । तर काम फटाफट नहुँदा जनता हैरान भएका छन् । धूलोले गर्दा बालबालिकासहित वृद्धवृद्धाको स्वास्थ्यमा बढी नै प्रतिकूल असर परिरहेको छ । विकासको काम नगर भन्न कसैले पनि मिल्दैन । किनकि अहिले केही दिन दुःख गर्दा पछि राजधानीको मुहार फेरिएला भनेर सबैले यसलाई सहेर बसेका छन् ।

यसो हुँदाहुँदै पनि निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउनु जरुरी रहेको छ । दिउँसो सर्वसाधारणको हिँडडुल हुने भएकाले राति काम गरेर हुन्छ वा जनशक्ति बढी भन्दा बढी प्रयोग गरेर हुन्छ, अथवा धूलो नियन्त्रण गर्नका लागि अन्य मुलुकबाट सिक्न सक्ने केही उपाय अवलम्बन गरेर हुन्छ, यसबारेमा सोच्नु जरुरी छ । काम शुरु गर्नुभन्दा अघि नै यो समस्या समाधानको लागि केही कुरा सोचेको भए अहिलेको जस्तो अप्ठेरो अवस्था आउने थिएन । अहिलेको निकास भनेको धूलो नियन्त्रण गर्ने कुनै उपाय अवलम्बन गरी चाँडोभन्दा चाँडो काम सक्नु नै हो । रिङरोड, शहरका भित्री खण्ड पुग्ने मुख्य सडक र अन्य सहायक सडकमा विभिन्न ११ खण्डमा विभाजन गरेर पाइप बिछ्याउन सडक भत्काउने काम भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची खानेपानी उप–आयोजना–२ ले जनाएको छ । उप–आयोजना–२ अन्तर्गतको सडक भत्काउँदै पाइप बिछ्याउने काम गएको छठ पर्वपछि भइरहेको छ । वितरण लाइनअन्तर्गत ६ सय ७० किमि खन्नुपर्नेमा ५ सय ५० किमि पाइप लाइन सडक भत्काउँदै बिछ्याइएको आयोजनाले जनाएको छ ।

खानेपानीको पाइप बिछ्याउन शहरको भित्री बाटो, गल्ली, सडक र सडकपेटीहरुसमेत भत्काइएको छ । तर पाइप लाइन बिछ्याइसकेपछि त्यस क्षेत्रमा सडकलाई जस्ताको त्यस्तै पुनर्निर्माण गर्ने कार्यमा भने सुस्तता देखिनु राम्रो होइन । उप–आयोजनाले आउँदो असारसम्ममा सडक पिच गरिसक्ने बताए पनि त्यो कुरा विश्वास गर्ने कि नगर्ने भनेर जनता रनभुल्लमा परिरहेको अवस्था छ । किनकि कामको गति सुस्त रहेको छ । मेलम्चीको पानी प्रयोग गर्ने बेलासम्ममा सर्वसाधारण जनता दीर्घरोगी भइसक्ने अवस्था भएकाले त्यसबारेमा चाँडो सोच्नु जरुरी छ । तसर्थ चाँडोभन्दा चाँडो काम सक्ने र धूलो नियन्त्रणका लागि सम्भावित सबै उपाय अवलम्बन गरियोस् ।

प्रतिक्रिया दिनुहोस्