वातावरण संरक्षणमा बढ्दो चुनौती



ढुनबहादुर बुढाथोकी

मानव समुदाय वातावरणीय तत्वहरुप्रति संवेदनशील हुन नसक्दा जैविक विविधता, प्राकृतिक सन्तुलन चक्र प्रणाली (इकोसिस्टम), ओजन तह विनाश भइरहेको छ। ओजन तह नष्ट हुँदा विश्वव्यापी उष्णता वृद्धि भइरहेको हो। सन् १८५० यता विश्वको तापमान १.३ डिग्री फरेनहाइट वृद्धि भएको छ। सन् १८५० यता मिथेन, कार्बनडाइअक्साइड, नाइट्सअक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जन ३५ प्रतिशत वृद्धि भएको छ। उष्णता वृद्धिका कारण हिमशृङ्खलाहरु पग्लिएर समुद्री सतहको उचाइ बढिरहेको छ। सन् १९९० सम्ममा वार्षिक ०.०७ इन्चको दरले वृद्धि भइरहेको समुद्री सतह तत्पश्चात् ०.१२ इन्चका दरले वृद्धि भएको हो। औद्योगिक क्षेत्र, यातायात क्षेत्र, व्यावसायिक प्रतिष्ठान र घरेलु क्षेत्रबाट कार्बन उत्सर्जन हुँदा हरितगृह ग्यासमा नकारात्मक असर परेको छ।

स्वस्थ वातावरणका लागि कम्तीमा पनि ४३ प्रतिशत वनक्षेत्र आवश्यक पर्छ। तर अहिले विश्वमा मुस्किलले २८ प्रतिशत वनक्षेत्र बचेको छ। वन संरक्षण गर्न नसक्दा वातावरण प्रदूषित बनिरहेको छ। अहिले विश्व एक चौथाइ मानिस वायु प्रदूषण, रसायन तथा फोहोरको गलत व्यवस्थापन र दूषित पिउने पानीको सिकार भइरहेका छन्। विकासोन्मुख मुलुकमा मात्र बर्सेनि ३० लाख ७० हजार मानिस वायु प्रदूषणको सिकार बन्न विवश छन्। जलप्रदूषणबाट वार्षिक १ अर्ब ७० हजार मानिसको स्वास्थ्य जोखिममा परिरहेको छ। त्यसमध्ये ७ लाख ६० हजार मानिसको ज्यान गुम्ने गरेको छ। कोइला, दाउरा, गुइँठालगायत ऊर्जाका परम्परागत स्रोतबाट निस्कले दूषित धुवाँका कारण विकासोन्मुख मुलुकका ४० लाख ३० हजार मासिनको ज्यान गुमिरहेको छ।

त्यसो त नेपाल पर्यावरणीय सम्पदामा धनी मुलुक हो। नेपालमा १ सय १८ प्रकारका इकोसिस्टम, ६ हजार नदीनाला, ३९.९ प्रतिशत वन सम्पदा छ। वातावरण संरक्षणका निमित्त २०४७ सालमा प्राकृतिक तथा सांस्कृतिक स्रोत संरक्षण परिषद्, २०५० मा वातावरण संरक्षण परिषद्, २०५२ मा जनसंख्या तथा वातावरण मन्त्रालय, २०५३ मा वातावरण संरक्षण ऐन, २०५४ मा वातावरण संरक्षण नियमावली, २०५६ मा सवारीसाधन प्रदूषण मापदण्डजस्ता संस्थागत तथा नीतिगत व्यवस्था भएको छ। तथापि राजधानीमा फोहोरका गगनचुम्बी डंगुर देख्नु सामान्यजस्तै भएको छ। राजधानी फोहोर मात्र होइन सवारी प्रदूषणको पर्याय बनेको छ। सडकले धान्न नसक्ने परिमाणमा सवारीसाधन गुड्ने अनुमति प्रदान गरिएको छ। त्यसै कारण काठमाडौं मेक्सिको सिटीपश्चात् प्रदुषित शहरको रुपमा बदनाम हुन पुगेको हो। विश्व बैंकको पछिल्लो प्रतिवेदनले नेपालमा वायु, ध्वनि, जल प्रदूषणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड नाघिसकेको र बर्सेनि १५ लाख टन कार्बनडाइअक्साइड वायुमण्डलमा पुर्याउने देखाएको छ। यी तथ्यहरु वातावरण संरक्षणको खातिर भयानक हाँकहरु हुन्।

कृषिप्रधान मुलुकमा कृषिभूमिको संरक्षणको साटो विषादीको प्रयोग बढ्दो छ। अधिक विषादी प्रयोगका कारण तरकारी खानयोग्य नभएको परीक्षणले देखाएको छ। गोठे तथा जैविक मलको प्रयोगलाई रासायनिक मलले विस्थापन मात्र गरेको छैन, यही अवस्था कायमै रहिरहे अबको ५० वर्षमा नेपालको माटोमा नाइट्रोजन शक्ति शून्य हुन सक्ने एक अध्ययनले देखाएको छ। ग्रामीण क्षेत्रमा वृक्षरोपणभन्दा कटानी बेसी छ। संरक्षित क्षेत्र, आरक्षण र सामुदायिक वनमा काठतस्करी र चोरी सिकारी नियन्त्रण हुन सकेको छैन। डढेलो र वन फडानीका कारण कैयौं जीवजन्तु लोप भइसकेका छन्। वन फडानी र वृक्षरोपणको अभावमा कुवा, धाप, खोलानाला सुकिरहेका छन्।

सीमसार, कुवा, धारा, तालतलैया नष्ट भइरहेका छन्। ढुंगा, गिट्टी, बालुवा उत्खननले चुरेक्षेत्र र खोलानालाको पर्यावरण ध्वस्त भइरहेको छ। सिमेन्ट उत्पादन, पहूँच मार्ग निर्माण र चुनढुंगा उत्खननका नाममा वातावरण विनाश भइरहेको छ। खोलामा माछा मार्नका लागि करेन्ट लगाउनु वा विषादी प्रयोग गर्नु सामान्यजस्तै भएको छ। वातावरण संरक्षणका निमित्त वनेका ऐन–कानुनले यी हर्कतहरु थुनछेक गर्न सकिरहेको छैन।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३० मा स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई मौलिक हकको रुपमा लिपिबद्ध गरिएको छ। संविधानको भाग ४ को धारा ५० मा वातावरण संरक्षणलाई राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा समाविष्ट गरिएको छ। तर वातावरण संरक्षणमा विद्यमान ऐन, नियम, कानुनको परिपालनाको संकट खड्किएको छ।

त्यसो त वातावरण संरक्षण दीर्घकालीन अवधारणा हो। वातावरण संरक्षण आर्थिक समृद्धि र सामाजिक विकाससँग गाँसिएको विषय हो। वातावरण संरक्षणका निमित्त वृक्षरोपण, खोलानाला, चुरे, धाप, सिमसार तथा जलाधारको संरक्षण, फोहोरको समुचित व्यवस्थापन, पेट्रोलियम पदार्थको प्रयोग कटौती, स्यानेटरी ल्यान्डफिलको दिगो व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रयोग अनिवार्य सर्तहरु हुन्। वनजंगलको फडानी रोक्नु, डढेलो लाग्न नदिनु, कटानीको अनुपातमा दोब्बर–तेब्बर वृक्षरोपण गर्नु, कीटपतंग, चराचुरुङगी, सरिसृपको आहारा, बासस्थान, क्रीडास्थल संरक्षण गर्नु, इको भिलेज निर्माण गर्नु, कलकारखानामा कम प्रदूषण संयन्त्र जडान गर्न उत्प्रेरित गर्नुु वातावरण संरक्षणका खातिर चाल्नै पर्ने कदमहरु हुन्। बिगार्नेले बनाउनु प्राकृतिक न्यायको सिद्धान्त हो। त्यसमथि मानिस विवेकशील प्राणी हुनुको नाताले पुस्तौंपुस्तासम्म सोच्नु उसको दायित्व हो। वातावरण संरक्षण एकल विषय होइन। वातावरण संरक्षण मानवजातिको साझा मुद्दा हो। विश्व समुदायको सहकार्य र साझेदारी खड्किएको विषय हो। त्यसैले वातावरण संरक्षण सबैको दायित्व हो।

प्रतिक्रिया दिनुहोस्