लैंगिक हिंसा पीडितका लागि रक्तदान



नेपाल समाचारपत्र
बाँके
लैंगिक हिंसा पीडितका लागि नेपालगन्जमा रक्तदान गरिएको छ।
मानव बेचविखनविरुद्धमा काम गर्ने माइती नेपालको २५औं स्थापना दिवसका अवसरमा रक्तदान गरिएको हो। त्यस अवसरमा विभिन्न पेसा, व्यवसायसँग जोडिएका व्यक्तित्व तथा विद्यार्थी, युवा गरी ५० भन्दा बढीले रक्तदान गरेका छन्।

माइती नेपाल, नेपालगन्जका संयोजक केशव कोइरालाले २५औं स्थापना दिवसका अवसरमा वर्षभरि नै विविध कार्यक्रमहरू गरिने बताउनुभयो। समुदायमा जनचेतना, बेचविखन तथा घरेलु हिंसा न्यूनीकरणका लागि आन्तरिक तथा बाह्य सरोकारवालासँग छलफल, अन्तरक्रिया, युवा विद्यार्थीलाई परिचालनलगायतका गतिविधिहरू गरिनेछ।

लैंगिक हिंसामा विशेष गरेर जलाइएका घटनामा रगतको माग बढी हुने गरेको छ। बाँकेमा वर्षमा सय जना आसपासमा लैंगिक हिंसासँग जोडिएकालाई रगतको आवश्यकता पर्ने सम्बद्धहरूको बुझाइ रहेको छ। ‘लैंगिक हिंसामा परेकालाई रगत उपलब्ध गराउन रक्तदान गरिएको हो’ –कोइरालाले भन्नुभयो।

बाँकेमा लैंगिक हिंसाका घटना धेरै हुने गर्दछ। सामान्य विवादले अपराधसम्म भएका छन्। प्रहरीमै हिंसाका दैनिक उजुरी आउने गर्दछ।

प्रतिक्रिया दिनुहोस्