अब आफ्नो शासन आफैं गर्ने होः शिक्षामन्त्री



नेपाल समाचारपत्र
लमजुङ
सदरमुकाम बेंसीशहरमा दिगो विकासका लक्ष्यहरू र स्थानीय तहबारेमा सांसद् तथा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम भएको छ ।

स्थानीय तहको नेतृत्वमा संविधानको मर्म र भावना बुझेको व्यक्तिले लिनुपर्ने शिक्षामत्री धनीराम पौडे्ललेबताउनुभयो। ‘संविधानले केन्द्रिकृत शासनलाई विकेन्द्रिकृत गरेको, सिंहदरबारमा भएको अधिकारलाई गाउँसम्म पुर्याएको छ’, उहाँले भन्नुभयो– ‘अब आफ्नो शासन आफैं गर्ने, आफ्नो ठाउँको योजना आफैं बनाउने हो। यसका लागि संविधानको मर्म र भावना बुझेको व्यक्तिले नेतृत्व लिनुपर्ने हुन्छ र नबुझेका मान्छे पुग्दा हाम्रो लक्ष्य प्राप्ति हुन्न, नागरिकको स्वीकृतमा जनताबाहेक कोही सर्वशक्तिमान हुँदैन भन्ने कुरालाई प्रत्याभूत गर्नुपर्छ।’

उहाँले कर्मचारी, अभिभावकले अहिले शिक्षा व्यवस्थापन नियमावलीको औचित्य र आवश्यकता महसुस गरेकोले चाँडोभन्दा चाँडो नियमावली ल्याउनका लागि आफू लागेको बताउनुभयो। उहाँले शिक्षा नियमावलीको विषयमा सरोकार राख्नेहरूको आवाजलाई केन्द्रिकृत अभिव्यक्तिको अनुरूप लागेको बताउनुभयो।

कार्यक्रममा सांसद डा. भिस्म अधिकारीले स्वागतसहित कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुहुँदै समयको मागअनुसार हामीले आफ्नो क्षमतामा बढोत्तरी गर्न सक्नुपर्छ भन्नुभयो। अर्का सांसद् जमिन्द्रमान घलेले दिगो विकासका लक्ष्यहरूको सूचक पूरा गर्न महिला, पुरुष, दलित, पीछडिएका समुदाय पनि जुट्न आवश्यक रहेको बताउनुभयो। संविधानमार्फत् प्राप्त अधिकारको भरपुर प्रयोगमा ल्याउनुपर्ने हुँदा आफ्नो क्षमता, अभिवृिद्ध गरी सार्थक सहभागिताका निम्ति सशक्त, हुनु जरुरी रहेको बताउनुभयो।

सांसद् लालबहादुर तमुले महिला र पुरुषको समन्वयबिना विकासको सम्भव नहुने भएकाले समन्वयकारीको भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहमा पनि पचास प्रतिशत महिला सहभागी हुने संविधानले सुनिश्चित गरेको हुँदा महिलाहरू त्यसैअनुरूप अघि बढ्नुपर्ने बताउनुभयो।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारी, नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, नेकपा एमालेको सचिवालय सदस्य लक्ष्मी अधिकारी, नेकपा माओवादी केन्द्रका इन्चार्ज मोहनहरि पौडेल, राप्रपाका अध्यक्ष इन्द्रबहादुर मल्ल, महिला संघका अध्यक्ष ज्ञानु शाह, अखिल नेपाल महिला संघ लमजुङका अध्यक्ष यशोदा रिमाल, अखिल नेपाल महिला संघ क्रान्तिकारी लमजुङका अध्यक्ष शान्ता भुजेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्