गुरुका चेला



पाका नेताहरू काम लागेनन् अब युवालाई राजनीतिमा स्थान दिइयो भने चाहिं मुलुकले केही गर्ला कि भन्ने आशा नेपाली जनमानसमा पाइन्छ। तर, राजधानीको आरआर क्याम्पसबाट हायलकायल भएर हिजो यो धरहराको छेउसम्म कुदेर असिनपसिन हुँदै आएका केही मानिसको कुरा सुन्दा भने यो धरहरा पनि चकित भएको छ। यसअघि स्थगित भएको स्ववियुको निर्वाचन हिजो गरिएको थियो।

निर्वाचन गर्ने क्रममा भित्र मतदान भइरहेको थियो भने बाहिर विद्यार्थीहरू पेट्रोल बम प्रहार गरेर अवस्थालाई आतंकित पार्न जुटिरहेको पाइयो। त्यही आतंकले गर्दा त्यहाँ पुगेका केही पाका मानिसहरू ज्यान जोगाउनका लागि भागेर यो धरहराको छेउसम्म आइपुगेका रहेछन्।

हुनत यहाँ ठूला भनिएका तीन दलले कुनै न कुनै बेला आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न विगतमा हतियार उठाएको रेकर्ड छ। सबैभन्दा ठूलो दल कांग्रेसले सबैभन्दा पहिला, त्यसपछि दोस्रो ठूलो दल रहेको अहिलेको एमाले र त्यतिबेलाको मालेले झापामा टाउको काट्ने अभियान चलाएको थियो। त्यसपछि तेस्रो दल रहेको माओवादीले त करिब एक दशकअघि मात्रै १७ हजार मानिसको ज्यान जाने गरी कार्यक्रम गरेकै हो।

तिनकै चेलाचपेटाले गुरुबाट सिकेको कुरा भनेको त्यही हिंसा नै रहेछ भन्ने अहिले पनि देखियो। मंगलबार मतदान भइरहेको बेलामा पेट्रोल बम प्रहार गरिएको घटना सायद आफ्ना गुरुबाट चेलाहरूले सिकेको पाठ नै होला। ‘जसो जसो बराजु सोही सोही नाति’ भन्ने उखान सायद यस्तै हर्कतको उपज होला। के भावी पिँढीले पनि त्यस्तै गुरुका यस्तै चेलाको हर्कत व्यहोरिइरहनुपर्ने हो ? चेलाहरूका अगाडि गुरुहरूले हामीले जे गर्यौं गल्ती गर्यौं अब तपाईंहरूले त्यस्तो नगर्नुहोला भनेर माफी माग्नुपर्ने पो हो कि ? नत्र त अझ केही दशक यस्तै हर्कत दोहोरिने संकेत पो पाइयो त⁄ कि कसो पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्