चर्को गर्मी हुनुपर्ने किन भएन ? कारणः वायुको दोहोरो प्रभाव



टीका बन्धन, काठमाडौं
बंगालको खाडीबाट भित्रिएको वायु र स्थानीय वायुको दोहोरो प्रभावले मुलुकका अधिकांश भेगको मौसम बदलिएको छ। अहिले प्रायः हरेक दिन प्रिमनसुनको गतिविधि सक्रिय हुँदै आएकाले चैतमा प्रस्ट महसुस हुनुपर्ने गर्मी तुलनात्मक रुपमा हुन नसकेको मौसमविद्हरूको तर्क छ।

दोहोरो वायुको प्रभाव मुलुकको पूर्वी, मध्य र मध्यपश्चिम भेगसम्म फैलिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यससँगै बंगलादेश, भारतको विहार र नेपालको पूर्वीभेगमा सोमबारदेखि विकास भइरहेको न्यून चापीय प्रणालीका कारण मंगलबार पूर्व र मध्य क्षेत्रको मौसम धेरै धुम्मिएको महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो।

‘केही दिन अघिदेखि नै सतही वायुको प्रभाव मुलुकको पूर्वीभेगमा परेको थियो, त्यसै गरी केन्द्रभागमा दक्षिणपूर्वी वायुको प्रभाव थियो’, उहाँले भन्नुभयो– ‘सोमबारदेखि पूर्वी भेगमा विकास भएको न्यून चापीय प्रणालीको असरसमेत अहिले थपिएको छ।’

मौसमविद्हरू अंग्रेजी महिनाका अप्रिल, मे र जुनलाई मनसुन पूर्वाद्धको समयका रूपमा बुझ्ने गर्छन्। यो अवधिमा मुलुकको पश्चिमी भेगबाट भित्रिने वायुको प्रभाव बलियो रहन्छ र प्रायः अपराह्नको समयमा मौसम बदलिएर हावाहुरीसहित क्षणिक वर्षासमेत हुने गर्छ।

तर अहिले पश्चिमको तुलनामा पूर्वी वायुको वहाव बलियो भएको र पूर्वी र पश्चिमी वायुको दोहोरो प्रभावले मध्यक्षेत्रको तापक्रमसमेत केही बढेको महाशाखाका अर्का मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो। उहाँका अनुसार पश्चिमी क्षेत्रको मौसम आज बुधबारबाट सुधार आए पनि पूर्व र मध्य क्षेत्रको मौसम भोलि बिहीबार पनि प्रस्टरूपमा खुल्नेछैन।

मंगलबार अधिकांश भेगको मौसम धुम्मिएपछि मुलुकका धेरै स्थानको आन्तरिक उडान प्रत्यक्ष प्रभावित भएको छ। बुद्ध, यति, तारा, गोमा, नेपाल एयरलगायतको अधिकांश क्षेत्रको उडान तालिका प्रभावित हुनुका साथै, केही ठाउँको उडान स्थगित भएको थियो।

बुद्ध, यतिका अपराह्नका पोखरा, भरतपुर, धनगढी उडान स्थगित भएका थिए भने दुर्गम क्षेत्रमा उडान केन्द्रित गरेका तारा र गोमा एयरको उडान तालिका प्रभावित बनेको थियो। ‘मौसमका कारण मंगलबार लगभग सबै कम्पनीका आन्तरिक उडान प्रभावित बने’, यति एयरका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘उडानका लागि टावरले नदिएपछि जबरजस्ती जोखिम मोलेर उडान गर्ने कुरा पनि भएन।’

बुद्धका पोखरातर्फका २ र धनगढीको एउटा उडान स्थगित भएको सो एयरका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले जानकारी दिनुभयो। नेपाल एयरले मंगलबार खोटाङको खानीडाँडा उडान स्थगित गर्नुका साथै काठमाडौंबाट लामिडाँडाका लागि उडान भरेको विमान खराब मौसमका कारण विराटनगरमा अवतरण भएको थियो।

प्रतिक्रिया दिनुहोस्