नेपाल पाकिस्तानसँग पराजित



नेपाल समाचारपत्र
काठमाडौं
नेपालको राष्ट्रिय क्रिकेट टोलीले बंगलादेशमा जारी एसीसी इमर्जिङ टिमस् कप प्रतियोगिताअन्तर्गत पहिलो खेलमा हार आत्मसात गरेको छ।

सोमबार कक्स बजारस्थित शेख कमाल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानको यु–२३ टोलीसँग ६ विकेटले हारेको हो। नेपालले आज समूह ‘बी’ अन्तर्गत आफ्नो दोस्रो खेल बंगलादेशसँग खेल्नेछ।

नेपालले पहिले ब्याटिङ गरेर निर्धारित ५० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ८० रन जोडेको थियो। नेपालको ब्याटिङ शुरुआतमै खराब भएको थियो। नेपालले ४२ रनका लागि कप्तान ज्ञानेन्द्र मल्ल (२), सागर पुन (४) र दीपेन्द्रसिंह ऐरी (१४) जस्ता शीर्ष खेलाडी गुमाएको थियो। तर, नेपालमा भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्धको खेलमा नचलेका सुनील धमलाले सानदार खेल देखाए।

सुनीलले शरद् भेषवाकरसँग चौथो विकेटका लागि ७९ रन साझेदारी गरेर उनी राष्ट्रिय टोलीका लागि आवश्यक भएको संकेत गरेका छन्। नेपालमा भएको केन्याविरुद्धको खेलमा ५ र १ रन बनाएका उनी ३ चौकाको मद्दतमा ४३ रन जोडेर चौथो विकेटको रूपमा पवेलियन फर्केका थिए। ११ रन जोडेपछि शरद् ३८ रनमा आउट भए। शरद्ले २ चौका प्रहार गरे। त्यस्तै विनोद भण्डारीले २४ रन जोड्दा आरिफ शेख १८ रनमा नटआउट रहे। नेपालले विपक्षीबाट ३४ अतिरिक्त रन पाउनु पनि सम्मानजनक स्कोरमा पुग्न सहयोग मिलेको थियो।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पाकिस्तानको युवा टोलीले ४ विकेट गुमाएर २९ बल बाँकी राखी भेटाएको थियो। जसमा नेपाली बलरका लागि ओपनर इमाम उल हक सबैभन्दा तगारो बनिदिए। उनले १ सय ३६ बल सामना गरेर ९ चौकाको सहयोगमा १ सय ५ रन जोडेका थिए। नेपालका तर्फबाट सन्दीप लामिछाने र कप्तान मल्लले २–२ विकेट लिए। अन्यमा सागर पुन, मेहबुब आलम, राष्ट्रिय टोलीमा पहिलोपटक खेलेका सुशन भारी, दीपेश श्रेष्ठ र शरद् भेषवाकरले विकेट लिन सकेनन्।

प्रतिक्रिया दिनुहोस्