तस्वीरका कुरा



ओहोदामा बस्नेले सार्वजनिक गतिविधि गर्दा ध्यान दिनुपर्ने कुरा धेरै हुन्छन्। खास गरी देशको प्रतिनिधित्व गर्दै विदेश गएका बेलामा यो कुरा निकै खड्किन्छ। एक पटक तत्कालीन प्रधानमन्त्री सुशील दा अमेरिका भ्रमणमा गएका बेलामा केही युवाले गन्जीमा रहेका प्रधानमन्त्रीसँग अंकमाल गर्दै गरेको फोटो सामाजिक सञ्जालमा राखिदिए। त्यसमा प्रधानमन्त्रीको गल्ती नहुन सक्छ। किनकि सुत्न लागेका बेलामा निकटका मान्छेले फोटो खिचौं न भनेको अवस्थामा हुन्न भन्न पनि भएन। तर, सार्वजनिक नगर भन्नुपर्ने त्योचाहिँ नभनेर नै होला सार्वजनिक भयो। प्रमको इज्जत भनेको मुलुकको इज्जतसँग जोडिएको विषय हो।

अहिलेका प्रम पुकदा चीन भ्रमणमै रहेका बेलामा त्यस्तै पाराको एउटा काम भएको छ। नाइट ड्रेसमा पुकदा र पत्नी सीताको तस्वीर सार्वजनिक गरियो। त्यो गर्नु आवश्यक कुरा नै होइन। कोही भित्रियाकै काम हुनुपर्छ। उहाँको बेडरुमसम्म जान सक्नेले नै यो अवस्था सिर्जना गरेका होलान्।

तर, यस्तो वाहियात काम गर्दा पनि हाम्रो प्रोटोकल शाखाले कसैलाई केही सिकाउने काम गर्दैन कि के हो? भनेर धरहरा वरपर अहिले चर्चा हुन थालेको छ। पहिलो कुरा त सम्बन्धित मान्छे नै सचेत भएर तस्वीर नखिच भन्नुपर्ने। त्यो पनि देखिएन। अब भोलि सुतिरहेको फोटो आउला, पर्सि नुहाउँदै गरेको फोटो आउला। अर्को दिन… फोटो आउला। यो दशा नदेखाउने हो कि ? यो त मुलुकसँग जोडिएको विषय पनि हो। सम्बद्धहरूले जान्ने हो कि ? कि कसो पाठकवृन्द ?

प्रतिक्रिया दिनुहोस्