रुसी विपक्षी नेतालाई कारावास सजाय



मस्को, (एजेन्सी)
रुसी विपक्षी राजनीतिक पक्षका नेता एलेक्सेइ नाभाल्नीलाई प्रहरीको आदेशविरुद्ध आइतबार आम विरोध प्रदर्शनको आयोजना गरेबापत सोमबार १५ दिन लामो कारावास सजाय सुनाइएको छ।

उक्त र्याली आयोजनाको सिलसिलामा नाभाल्नीलगायत अन्य सयौं व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको थियो। यसअघि नै मस्कोस्थित एक अदालतले नाभाल्नीलाई प्रतिबन्धित प्रदर्शनको आयोजना गरेको आरोपमा ३ सय ५० अमेरिकी डलर जरिवाना तोकेको थियो।

यस प्रदर्शनलाई लिएर क्रेमलिनले विपक्षी राजनीतिक समूहलाई कानुन उल्लंघन गर्न उक्साउनुका साथै हिंसा मच्चाउन खोजेको आरोप लगाएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले केही युवालाई सो प्रदर्शनमा पैसा तिरेर सहभागी गराइएको जानकारी दिएका छन्।

नाभाल्नीले भने बारम्बार प्रधानमन्त्री दिमित्री मेदभेदेभविरुद्ध भ्रष्टाचारको अभियोग लगाएका थिए। राजधानी मस्कोलगायत सेन्ट पिटर्सवर्ग, भ्लादिभोस्तोक, नोभोसिविस्र्क र टोम्स्कलगायत अन्य थुप्रै शहरमा आयोजित उक्त सरकार विरोधी र्यालीमा हजारौं व्यक्तिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्