अमेरिका आबद्ध सेना र आईएस आतंककारीबीच झडप



बेरुत, (एजेन्सी)
अमेरिका आबद्ध संयुक्त सेना र इस्लामिक स्टेट (आईएस) लडाकूबीच उत्तरी सिरियाको एउटा प्रमुख शहरमा सोमबार भिडन्त भएको छ। जिहादीहरूले सैनिक विमानस्थल कब्जा गरेको केही घण्टापछि उक्त झडप भएको जनाइएको छ।
द सिरियन डेमोक्रइटिक फोर्स (एसडीएफ) को ताब्का विमानस्थलमा रहेको शिविर आईएस लडाकू समूहले आइतबार राति कब्जामा लिएको थियो।
एसडीएफका सेनाले उक्त शिविर वरिपरि भीषण आक्रमण गरेको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ।

विमानस्थलको उत्तरी भागमा भएको यस आक्रमणमा एसडीएफले भीषण हवाई आक्रमणसमेत गरेको उक्त संस्थाका प्रमुख रामी अब्देल रहमानले जानकारी दिए।
सिरियामा त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सन् २०११ मार्चमा शुरू भएको आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।

यस गृहयुद्धमा अल कायदा र इस्लामिक स्टेटजस्ता अतिवादी समूहको प्रभाव बढ्दै गयो। जारी यस युद्धमा परी सन् २०११ को मार्चदेखि हालसम्म तीन लाख १० हजारभन्दा बढी नागरिकको मृत्यु भइसकेको छ। हालसम्म जारी द्वन्द्वमा परी लाखौं जनता घाइते भएका छन् भने लाखौं जनता आफ्नो घर छोडी स्वदेश तथा विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्।

प्रतिक्रिया दिनुहोस्