भारु सटही अन्योलमै सहमतिबिनै फर्कियो भारतीय टोली



दीपेन्द्र थापा, काठमाडौं

नेपालमा रहेको प्रतिबन्धित पाँच सय र हजार दरका नोट सटही गर्ने विषय अझै टुंगो लाग्न सकेको छैन। भारु सटहीको लागि छलफल गर्न नेपाल आएको रिजर्व बैंक अफ इन्डिया (आरबीआई) को टोली बिना सहमति स्वदेश फर्किएको छ।

आरबीआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा भारतीय टोली शनिबार नेपाल आएको थियो। नेपाल राष्ट्र बैंकसँगको छलफलका क्रममा भारतीइ पक्षले नेपालमा रहेको भरु प्रतिव्यक्ति चार हजार पाँच सयसम्म मात्रै सटही गर्ने अडान नछोडेपछि सहमति जुट्न नसकेको राष्ट्र बैंकका अधिकारीले जनाएका छन्।

राष्ट्र बैंकका अधिकारीले भारु पाँच र हजार दरका नोटमा प्रतिबन्ध लाग्नु अघि नेपालमा २५ हजारलाई वैधानिक मानिएको हुँदा सोहीअनुसार भारु सटही गर्नुपर्ने अडान राख्दै आएको छ।

भारु सटहीका लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानासहित टोली सहभागी थियो।

शनिबार नेपाल आएको आरबीआईको टोलीले शुरूदेखि नै प्रतिव्यक्ति चार हजार पाँच सय भारुसम्म मात्रै सटही गर्ने अडान नछोडेको र राष्ट्र बैंकका अधिकारीले भने प्रतिव्यक्ति २५ हजार भारुसम्म सटही गर्ने अडान यथावत राखेपछि छलफल बिना निश्कर्ष टुंगिएको हो।

सोमबार अन्तिम समयसम्म पनि सहमति गर्ने प्रयासमा राष्ट्र बैंकको टोली सक्रिय भए पनि भारतीय पक्षले प्रतिव्यक्ति चार हजार पाँच सय टसमस नभएपछि दुवै पक्षले माथिल्लो निकायसँग थप छलफल गर्नुपर्ने भन्दै छलफल टुंगाएका छन्।

भारतीय पक्षले प्रतिव्यक्ति चार हजार पाँच सय भारु साट्ने हो भने तत्काल सम्पर्क गर्न नेपाली पक्षलाई आग्रह गरेको छ। सटहीका लागि समय सीमा बढी राख्दा गैरकानुनी र भारतीय व्यक्तिले पनि नोपलमा आएर पैसा साट्न सक्ने भन्दै भारतीय पक्षले पाँच दिनभित्र बैंक खाता खोलेर रकम सटही गरिसक्नुपर्ने जनाएको थियो। तर, नेपाली पक्षले भने छोटो अवधिमा काम गर्न नसकिने भन्दै समय सीमा बढाउन पनि आग्रह गरेको थियो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘आइतबार र सोमबार दुईपटकसम्म भएको छलफलमा भारतीय पक्षले चार हजार पाँच सयभन्दा बढी भारु साट्न नसकिने मौखिक रुपमा बताएका छन्। तर, हामीले २५ हजार नै सटही गर्नुपर्ने अडान राखेका छौं, प्रगति भएको छैन।

हामी हाम्रो अडानमा कायम छौं भने भारतीय पक्ष थोरै रकम सटही गरेर समस्या समधानको बाटो खोजिरहेको छ। यो प्रस्ताव आम नेपालीको हितमा छैन त्यसैले हामी थप छलफलमा छौं।’ वार्ताको ढोका सधैं खुला छ, भारतीय टोलीले सटहीको लागि राखेको प्रस्ताव हामीले लिखित रुपमा पठाउन अनुरोध गरेका छौं त्यसपछि हामी हाम्रो माथिल्लो तहसँग छलफल गर्नेछौं र भारतीय पक्षले पनि हाम्रो प्रस्ताव उनीहरूको माथिल्लो तहमा कुरा गर्नेछ र के कति मात्रामा सटही गर्ने भन्ने कुराको निक्र्याैल हुने शिवाकोटीको भनाइ छ।

यसअघि गत फागुन १७ गते भारु सटहीको विषयमा भारतीय टोलीले पहिलो चरणको अध्ययन गरेर फर्किएको थियो। भारतले गत कात्तिक २३ गते पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो।

राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा ७ करोड ८४ लाख भारु हजार र पाँचसय दरका नोट रहेको छ भने बैंकिङ प्रणाली बाहिर ठूलै परिणममा हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्