राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्दै



काठमाडौं, (नेस)
नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपियाँबराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १३ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ जारी गर्न लागेको हो।

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले किन्न सक्नेछन्। मंगलबार दिउँसो ३ बजे बोलकबोल हुने ऋणपत्र बुधबार निष्काशन गर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार अनलाइनमार्फत् पनि बोलकबोल पनि गर्न सकिन्छ। धितोको रुपमा प्रयोग गर्न सकिने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ चैत १६ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ।

यसमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात ४ सय करोड र सय करोड छुट्याइएको राष्ट्र बैंकले जनाएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने।
अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुने छ। ऋणपत्र कम्तिमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजार रुपियाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकनेछ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन्। साथै ‘क’, ‘ख’ र ’ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्। (ग) प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्