वैद्य माओवादी चुनावमा जाने



काठमाडौं, (नेस)
नेकपा (क्रान्तिकारी) माओवादीले स्थानीय निकायको चुनावमा भाग लिने केन्द्रीय समितिमा प्रस्ताव पेस गरेको छ। सो पार्टीको सोमबार शुरू भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चा देशभक्त जनतान्त्रिक मोर्चालाई चुनावको कार्यनीतिकरूपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ। सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहनुभएको छ। पार्टीका अध्यक्ष मोहन वैद्य किरणले तयार पारेको प्रस्तावमा रणनीतिकरूपमा भन्दा पनि कार्यनीतिकरूपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ।

प्रस्तावमा भनिएको छ– ‘चुनावलाई कार्यनितीकरूपमा प्रयोग गरेर स्थानीय तहमा व्याप्त भ्रष्टाचार र अनियमितता बाहिर ल्याउनुपर्ने देखिएको छ। साथै संविधानसभाको भण्डाफोर अभियानलाई गाउँ–गाउँसम्म पुर्याइनेछ।’ विस्तारित बैठकले स्थानीय निकाय निर्वाचन बहिष्कार गर्ने वा उपयोग गर्ने भन्नेबारेमा निर्णय लिने पार्टीका प्रवक्ता हरिभक्त कँडेल प्रतिकले बताउनुभयो। बैठकमा केन्द्रीय सल्लाहकार, पार्टीका जिल्ला सचिव, जनवर्गीय संगठनका अध्यक्षसम्मको सहभागीता छ।

क्रान्तिकारी माओवादीको चालू केन्द्रीय समितिको बैठकमा ७ वटा समूह बनाएर समूहगतरूपमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ। संविधानसभा जनताको पक्षमा नभएको स्पष्ट भए पनि जनमत सिर्जना गर्न र आफ्नो पक्षमा मत तयार पार्न चुनावमा सहभागी हुन सकिने पार्टीका बाँके जिल्ला सेक्रेटरी उपेन्द्र शाहीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यसै गरी पार्टीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको केन्द्रीय समितिको वैठक पनि पार्टी केन्द्रीय समितिको बैठकलगत्तै बस्ने भएको छ। सरकारले वैशाख ३१ गते स्थानीय निकायको चुनावको मिति तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्