स्वास्थ्य राज्यमन्त्री वीर अस्पतालमा



नेपाल समाचारपत्र
काठमाडौं
स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले वीर अस्पताल पुगी स्वास्थ्य परीक्षण गराउनुभएको छ। आफूसँग गएका सहयोगी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य परीक्षण गराएको वीर अस्पताल प्रशासनले बताएको छ। सोमबार बिहान ९ बजे अस्पताल पुग्नुभएका राज्यमन्त्री गुरुङले मुटु, मृगौला, कलेजो, मधुमेहको परीक्षण गराउनुभएको थियो।

राज्यमन्त्री गुरुङले अल्ट्रासाउन्ड, प्रेसर, पिसाब, रगतलगायतका सबै परीक्षण गरेको बताइएको छ। उहाँको परीक्षणमा अस्पतालका निर्देशक प्राडा भूपेन्द्रकुमार बस्नेत, डा. सरोज शर्मालगायतका चिकित्सक खटिनुभएको थियो। परीक्षणपश्चात् राज्यमन्त्री गुरुङले वीर अस्पतालको निरीक्षण गर्नुभएको थियो।

अस्पतालका सबै विभागीय प्रमुखहरूलाई बोलाएर गुनासो सुन्ने र निर्देशन दिने काम भएको अस्पतालका निर्देशक डा. बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। सो अवसरमा स्वास्थ्य राज्यमन्त्री गुरुङले अस्पतालको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्