स्वर्गद्वारीको १ हजार ५० बिघा जग्गा व्यक्तिगत प्रयोगमा



यमलाल भुसाल, बुटवल
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल प्युठान जिल्लाको स्वर्गद्वारीको नाममा रहेको १ हजार ५० बिघा क्षेत्रफलको जग्गा अहिले पनि संरक्षणको अभावमा व्यक्तिले भोग चलन गर्दै आएका छन्।

दाङ देउखुरी क्षेत्रमा रहेको आश्रमको नामको उक्त जग्गा माओवादी जनयुद्धसँगै व्यक्तिले उपयोग गरिरहेका छन्। माओवादी जनयुद्ध शुरू हुनुपूर्व जग्गाको भोगचलन गर्नेहरूले आश्रमलाई पोत बुझाउने गर्दथे त्यसपछि बुझाउन छाडेकाले प्रसिद्ध्र धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीको संरक्षण र विकासमा आर्थिक समस्या पर्दै आएको बताइएको छ। नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा होटल व्यवसायी महासंघ नेपालको समन्वय तथा होटल व्यवसायी संघ प्युठानको आयोजनामा शनिबार भएको स्वर्गद्वारीको पर्यटन विकासका सम्भावना चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताले आश्रमको जग्गा संरक्षणमा कसैले ध्यान दिन नसक्दा आश्रम आर्थिक अभावले संकटमा पर्न थालेको गुनासो गरेका थिए।

उनीहरूले प्रसिद्ध्र धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा आस्थाका आधारमा धार्मिक पर्यटक आउने गरेकाले यसको गरिमा टिकिरहेको दाबीसमेत गरेका छन्।

हिन्दु धर्मालम्बीहरूले गर्ने सबैखालका पूजाआजा यहाँ गरिने भएकाले पशुपतिनाथपछिको धार्मिक पर्यटकको प्रमुख गन्तव्य स्वर्गद्वारी बन्दै आएको उनीहरूको कथन छ। स्वर्गद्वारी आएर पूजा गरेपछि मनोकांक्षा पूरा हुने र स्वर्ग गए सरह हुने भएकाले यहाँको आकर्षण बढ्दै गएको आश्रमका पुजारी शालिकराम रिजालले बताउनुभयो। विसं १९५१ सालदेखि अनवरत रूपमा सञ्चालन भइरहेको वेदपाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका साढे ३ सय बढी गाई विभिन्न आकृतिका मठ मन्दिर, आश्रम यज्ञशालाको दक्षिण भूभागमा रहेको ठूलो बाँझको वृक्ष नै दर्शनार्थीका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन्।

आधार शिविर भिंगृदेखि स्वर्गद्वारी नजिक धरमपानीसम्मको कच्ची सडकको स्तरोन्नति नहुनु तीर्थयात्रीका लागि मुख्य समस्या भएको र कैयन् व्यक्तिले अनाहकमा ज्यान गुमाउनु परेको छ। स्वर्गद्वारीमा वर्षेनी लाखौंको संख्यामा भक्तजन आउने गरे पनि अझैसम्म यसको व्यवसायीकरण हुन नसकेको पत्रकार महासंघ प्युठानका अध्यक्ष महावीर रानाले बताउनुभयो।

आधार शिविर भिंगृदेखि स्वर्गद्वारी पुग्ने सडकलाई स्तरवृद्धि गरी कालोपत्रे गर्नुपर्ने, आश्रममा भएका गाईलाई नुन खुवाउन आउने धार्मिक पर्यटकले गाईलाई आवश्यक पर्ने दानासमेत ल्याउने व्यवस्था मिलाउन सकेमा स्वर्गद्वारी धार्मिक स्थलसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्