गुल्मीमा २ सय ९५ क्षयरोगी भेटिए



नेपाल समाचारपत्र
गुल्मी
ल्मीमा २ सय ९५ क्षयरोगका बिरामी रहेका छन्। महिला ९९ र पुरुष १ सय ९६ गरी २ सय ९५ जनाले जिल्लाका विभिन्न स्थानमा रहेका उपचार केन्द्रमार्फत् डट्स विधिबाट औषधि खाइरहेका छन्। जसअन्तर्गत खकारमा किटाणु देखिएका महिला ३६ र पुरुष ७१ र पुनः उपचारमा आएका पुरुष २० जना गरी १ सय २३ जना रहेका छन्।

खकारमा किटाणु नदेखिएका फोक्सोको क्षयरोगका बिरामी महिला २३ र पुरुष ४३ गरी ६३ जना रहेका छन्। सो संख्यामा पुनः उपचारमा आएका महिला १ र पुरुष ४ जना रहेको जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कृष्ठरोग सुपरभाइजर शिशिर सिलवालले बताए। शरीरका अन्य भागमा यो रोग भएका महिला ४० र पुरुष ६६ गरी १ सय ६ जना रहेका छन्। जसमा २ जना पुनः उपचार गर्न आएको पुरुष रहेका सिलवालले बताए। ०७१⁄०७२ मा कुल खकारमा किरा देखिएका १ सय १७ मध्ये ६ जनाको मृत्यु भएको छ। एक आर्थिक वर्षको उपचार नतिजा एक वर्ष पछाडि आउने गर्दछ। सरदरमा प्रत्येक वर्ष पाँच प्रतिशतको मृत्यु हुने सुपरभाइजर सिलवालले बताए। आगामी वर्ष घरघरमै पुगेर बिरामीलाई औषधि वितरण गर्ने कार्यक्रम शुरू भएको छ। औषधि खानकै लागि बिरामीहरू स्वास्थ्य संस्था धाउन नपरोस् भनेर प्रत्येक स्वास्थ्य संस्थामार्फत् समुदायमा आधारित डट्स विधि सञ्चालन भएको छ। टोलटोलमा उपचार सहयोगी नियुक्त गरी तालिम दिने काम भइरहेको कार्यालयले जनाएको छ।

जिल्लाका चार स्थानमा क्षयरोगका जटिल प्रकारका बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डमा उल्लेख छ। धुर्कोट गाउँपालिकाको पीपलधारा र जैसीथोक, इस्मा गाउँपालिकाको दोहली र छत्रकोट गाउँपालिकाको पल्लिकोटमा जटिल प्रकारका क्षयरोगका बिरामी रहेका छन् भने अरू १० स्थानमा क्षयरोगका बिरामीको संख्या उच्च रहेको कार्यालयले जनाएको छ। रेसुंगा नगरपालिकाको तम्घासमा ७ र दुबिचौरमा ४, सत्यवति गाउँपालिकाका ठुलोलुम्पेकमा ५ र जोहाङमा ३ जना, मुसिकोट गाउँपालिकाअन्तर्गतका वामीमा ८ र वडागाउँमा ५ जना क्षयरोगका बिरामी रहेका छन्। त्यस्तै छत्रकोट गाउँपालिकाको वीरबासमा ७ र दरबार गाउँपालिकाको दरबारदेवीस्थानमा ३ जना बिरामी रहेका छन्।

एक जना क्षयरोगीले समयमा औषधि नगर्दा १ वर्षमा १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकले बताएका छन। सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसिना आउने, थकाइ लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिनासम्म देखिन्छ। यस्तो बेला तत्काल परीक्षण गराएर औषधि शुरू गरिहाले रोगबाट जोगिन सकिने जिल्ला अस्पताल तम्घासका डा. प्रकाश पुनले बताए।

प्रतिक्रिया दिनुहोस्